काठमाडौं । पोखरामा भदौ ६ गते गाईजात्रा हुने भएको छ । ब्रान्ड बर्थको आयोजना र ‘लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको’ संयोजनमा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको हो । ब्रान्ड बर्थले सातै प्रदेशमा यो कार्यक्रम आयोजना गरेको हो ।
पोखरामा लामो समयदेखि हास्यव्यङ्ग्यमूलक कार्यक्रम नभएको भन्दै यसपालिको गाईजात्राले पोखरेलीलगायत गण्डकी प्रदेशका दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने कार्यक्रम संयोजक शैलेन्द्र कर्माचार्यले जानकारी दिए ।
‘हामीलाई आशा छ, यस कार्यक्रमले देशको विकृति र विसङ्गतिलाई छर्लङ्ग पार्ने छ र दर्शकलाई मनोरञ्जन पनि प्रदान गर्नेछ,’ कर्माचार्यले भने ।
गाईजात्रा कार्यक्रममा चर्चित हास्यव्यङ्ग्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलाको साग), रवि डङ्गोल, शिवशङ्कर रिजाल (जोगिन्दर पानवाला), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की र रुविना अधिकारीको प्रस्तुति रहने जनाइएको छ ।
पोखरा सभागृह हलमा हुने उक्त कार्यक्रमबाट भएको आम्दानी विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा खर्च गरिने प्रचारप्रसार संयोजक बोधराज रेग्मीले जानकारी दिए । उक्त कार्यक्रम हेर्न दर्शकले पाँच सय र एक हजारको टिकट काट्नुपर्ने छ ।
गण्डकी प्रदेशमा आन्तरिक भ्रमण वर्ष चलिरहेकाले यस कार्यक्रमले आन्तरिक पर्यटक तथा पर्यटन वर्ष २०२० प्रवद्र्धनमा समेत टेवा पुग्ने क्लबका पूर्व अध्यक्ष तथा सह–संयोजक रुद्र केसीले बताए । उनले भने, ‘हाम्रो क्लबले यस कार्यक्रमको रिपोर्टिङ अन्तराष्ट्रिय जगतमा समेत गर्दछ । यसले पर्यटन वर्षलाई पनि टेवा पु¥याउने विश्वास हामीले लिएका छौं ।’
गाईजात्रा कार्यक्रम करीब एक हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको पिस सोसाइटीका अध्यक्ष कुशराज तिमिल्सिनाले बताए ।