काठमाडौं । सरकारले चिनीको माग र आवश्यकतालाई परिपूर्ति गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिने भएको छ ।
कति परिमाणमा चिनी ल्याउन दिने भन्ने विषयमा अहिले निर्णय भएको छैन । तर, आवश्यकता परिपूर्ति गर्ने गरी चिनी ल्याउन उक्त कम्पनीलाई दिन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चाडबाडका समयमा चिनीकाे अभाव हुन नदिन सरकारी कम्पनीमार्फत चिनी ल्याउन लागिएकाे हाे । चाडबाडकाे समयमा प्रत्येक वर्ष व्यापारीले चिनीकाे कृत्रिम अभाव देखाउँदै आएका छन् ।
सरकारले खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाएको हो । सोही कम्पनीले गुलियोजन्य पदार्थको आपूर्ति गर्ने गरी फाइल निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पठाउँदै छ ।
यसअघिसम्म सरकारी स्वामित्वको साल्ट्र ट्रेडिङमार्फत चिनी आपूर्ति गर्दै आएको सरकारले अबदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चिनी आपूर्ति गर्ने भएको छ ।
अधिकांश चिनीको माग स्वदेशी उद्योगबाटै परिपूर्ति भएको र थोरै मात्रै चिनी आयात गर्नुपर्ने भए पनि सरकारी कम्पनीमार्फत गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि देशको चिनीको माग स्वदेशी उद्योगले धान्दै आएका छन् । उद्योगीले देशको माग धान्ने चिनी स्वदेशी उद्योगसँगै रहेको बताउँदै आएको थिए ।
नेपाली उद्योगीले ठूलो परिमाणमा उद्योगमा चिनी मौज्दात रहेको र त्यही कारण किसानलाई समयमै भुक्तानी गर्न नसकेको बताएपछि सरकारले चिनीमा परिमाणत्मक बन्देज लगाएको थियो । त्यो अहिले पनि कायम छ ।
उद्योगीले सरकारले खडा गरेको कम्पनीले देशमा चिनीको माग व्यापाक बढेको र स्वदेशी उत्पादनले नपुग्ने अवस्थामा मात्रै ल्याउने गरी अनुमति दिन राम्रो भएको बताएका छन् । उद्योगीले अहिले पनि उद्योगको गोदाममा चिनी मौज्दात रहेको बताएका छन् ।
याे पनि पढ्नुहाेस् ः