काठमाडौँ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग निकै बढाएको देखिएको छ ।
कागजी चेक बोक्नुपर्ने, लाइन बस्नुपर्ने लगायतका विभिन्न समस्याबाट मुक्तिका लागि डेबिट कार्डको प्रयोग बढेको हो । आर्थिक वर्ष २०७४/७५ को असार मसान्तमा ४९ लाख ८० हजार ९ सय ५८ रहेको डेबिट कार्डको सङ्ख्या आर्थिक वर्ष २०७५/७६ असार मसान्तसम्म आइपुग्दा ५५ लाख ४४ हजार २ सय ५३ पुगेको छ ।
एकै वर्षको अन्तरालमा ५ लाख ६३ हजार २ सय ९५ डेबिट कार्ड बढेको राष्ट्र बैङ्कले जनाएको छ । क्यापिटल नेपालसँग कुरा गर्दै राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले प्रविधिको विकाससँगै डेबिट कार्डको प्रयोग पनि बढेको बताए ।
के हो डेबिट कार्ड ?
डेबिट कार्ड एक प्रकारको भुक्तानि (पेमेन्ट) कार्ड हो, जसले बैङ्कको खातावाललाई आफ्नो खातामा इलेक्ट्रोनिक पहुँच उपलब्ध गराउँछ । सो कार्डबाट खातावालले आफ्नो खातामा भएको रकम निकाल्ने तथा खरिदमा भुक्तानी गर्न सक्छ । यसले चेकको प्रयोगलाई प्रतिस्थापनसमेत गर्न खोजेको देखिन्छ ।
डेबिट कार्ड एक प्रकारको प्लास्टिक कार्ड हो । जसलाई बैङ्क कार्ड वा चेक कार्ड भनेर पनि चिनिने गरिन्छ । यसको प्रयोग गरेर एटीएमबाट पैसा निकाल्न तथा वस्तु वा सेवा खरिद गर्दा भुक्तानी गर्न सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्ने गरिन्छ ।
डेबिट कार्डकोे प्रयोगले चेक काट्ने, हस्ताक्षर गर्ने, हस्ताक्षर नमिल्ने, बैङ्क तथा वित्तीय संस्थामा लामो समयसम्म लाइन बस्नुपर्ने लगायतका विभिन्न समस्याबाट मुक्त भइन्छ ।