कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केही व्यक्तिले नाजायज फाइदा लिनका लागि विधान संशोधन गरेर आफूलाई अध्यक्ष बन्नबाट रोक्न लागेको बताएका छन् ।
कपिलवस्तु उद्योग वाणिज्य सङ्घको १३ औं साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्ष बन्न नदिन केही विधान संशाेधन गर्न लागेकाे बताए ।
‘विद्यमान विधान अनुसार आफू स्वतः अध्यक्ष हुने गरी वरिष्ठ उपाध्यक्षमा चुनाव जितेको हो । र सम्पूर्ण उद्योगी/व्यवसायीले पनि अध्यक्षकै लागि वरिष्ठ उपाध्यक्षमा मतदान गर्नु भएको हो । तर, अहिले केही व्यक्तिले म बाट नाजायज फाइदा उठाउन फेरी विधान संशोधन गरेर पुनः अध्यक्षको चुनाव गराउने खेलमा लागेका छन्, त्यसमा उद्योगी साथीहरु सजक हुन आवश्यक छ,’ उनले भने, ‘जिल्लाका उद्योगी व्यवसायी कसैको निहीत स्वार्थ पूर्ति गर्न हरेक पटक गोटी बन्न हुँदैन ।’
महासङ्घको हित भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न अहिले विधान संशोधन गरेर अध्यक्षमा चुनाव गराउने खेल भइरहेको गोल्छाले बताए ।
साधारणसभामा निकै आक्रोशित बनेका गाेल्छाले घुमाउरो पारामा आफूसँग बार्गेनिङसमेत भइरहेकाे खुलाए । अघिल्लो पटकको केन्द्रीय अधिवेशनमा वरिष्ठ उपाध्यक्ष स्वतः भावी अध्यक्ष बन्ने विधान भएकोले यसपालि पनि त्यही नियम लागू हुनुपर्ने बताए ।
उनले महासङ्घको केन्द्रीय अधिवेशन आउन थालेको अवस्थामा अहिले पूर्वसहमति विपरीत सङ्घको विधान संशोधन गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनेक कुरा उठेकाले त्यो कुरा आफूलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार आफू चुनाव लडेको भन्दै उनले आक्रोशित हुँदै भने ‘नीहित स्वार्थको लागि विधान जस्तो कुरामा तोडमोड गरिन्छ भने मलाई कुनै हालतमा मान्य हुने छैन ।’
महासङ्घका अध्यक्ष भवानी राणाले पनि घुमाउरो पारामा अध्यक्ष वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने बताइन् । ‘विधान संशोधन हुन्छ । त्यो आवश्यक छ । तर, हालका वरिष्ठ उपाध्यक्षलाई त्यो लागू हुँदैन’ उनले भनिन्, ‘अध्यक्षका लागि चुनाव लडिसकेका वरिष्ठ उपाध्यक्षलाई जिल्लाका साथीले पनि अन्याय गर्नु हुँदैन र मैले पनि अन्याय गर्दिन ।’
गोल्छाले आफूलाई कसैले कमजोर ठानेको छ भने त्यो सोच नपाल्नसमेत चेतावनी दिए । ‘जे हुन्छ उद्योगी र मुलुकको हितमा हुन्छ । कसैको व्यक्तिगत स्वार्थ पूरा गर्न सङ्घमाथि प्रहार गर्न पाइँदैन । विधानको कुरा आउँछ भने मेरो कुरा पनि आउँछ, म त्यही विधानमा टेकेर चुनाव लडेको थिएँ । मलाई देशभरका व्यवसायीले भोट गरेर वरिष्ठ उपाध्यक्षमा जिताउनु भएको थियो । अब अध्यक्ष बन्ने पालो मेरो हो’ उनले भने ।
आफ्नो पक्षमा देशभरका उद्योगी व्यवसायी रहेकाले आफू डटेर लड्ने गोल्छाले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ साना तथा मझौला उद्योगीहरुको सङ्घ भएकाले साना व्यावसायीको हितमा काम गर्नुपर्ने बताए ।