काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चावहिल-बौद्ध-जोरपाटी-साँखु र जोरपाटी-सुन्दरीजल सडक निर्माणमा भइरहेको ढिलाइको अनुगमन गरेको छ ।
चावहिलबाट माथितिरको सडक विसं २०७२ मै ठेक्का भए पनि अझै विस्तार र कालोपत्र हुन सकेको छैन । घर जग्गाको मुआब्जा विवादले सडक निर्माण अलपत्र बनेको हो ।
सडक विस्तार हुन नसक्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोमा यात्रा गर्न यात्रु बाध्य छन् । अनुगमनका क्रममा समितिका सभापति कल्याणीकुमारी खड्काले काममा ढिलाइ हुँदा आम मानिसलाई आवतजावतमा समस्या भएकाले सरोकार भएका निकायका अधिकारीलाई बैठकमा बोलाएर छलफल गरी समाधानका लागि निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।
शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले सडकमा हुने टेलिफोनको तार, विद्युत्को पोल एवं तार र खानेपानीको पाइप विच्छ्याउने काम एकीकृत रुपमा हुनुपर्ने बताए ।
साँखु-जोरपाटी सडक सरोकार समूहका अध्यक्ष मिलन खड्काले सडक विस्तार एवं निर्माण गर्दा सूचना पाटी नराखिएको, कहिले शुरु भएर कहिले अन्त्य हुनेलगायत सूचना पाउनबाट पनि स्थानीयवासी वञ्चित भएको बताए । मापदण्ड के हो र सडक कसरी बन्दैछ भन्ने उपभोक्ताले जान्न पाउनुपर्ने उनकाे भनाइ थियो ।
चावहिलबाट साँखुको सडक करीब १२ किमी छ । यो सडकमा पाँच वटा ठेक्का लगाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले जानकारी दिए । यसैगरी जोरपाटी–सुन्दरीजल सडक करीब सात किमी छ । यो सडकमा दुई खण्डमा ठेक्का लगाइएको छ ।
दुवै सडकको म्याद २०७७ जेठ मसान्तसम्म थप गरिएको जनाइएको छ । अनुगमनमा समितिका सांसदहरु, यस क्षेत्रका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । रासस