कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५/७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख रूपैयाँ पुगेको छ ।
स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी पाँच करोड रूपैयाँ थियो । निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो ।
नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको पाँच करोड रूपैयाँकाे आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताए । गत आवको आम्दानीका आधारमा चालू आवमा १३ करोड २४ लाख रूपैयाँ आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ ।
पाँचौँ नगरसभाबाट नगरपालिकाले एक अर्ब २२ करोड रूपैयाँको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी पाँच करोड ३२ लाख रूपैयाँ राजश्व सङ्कलन गरिएको छ ।
सेवा शुल्कबाट चार करोड २७ लाख रूपैयाँ आम्दानीको लक्ष्य राखिएको थियो । तीन करोड २६ लाख रूपैयाँ लक्ष्य राखिएको रोयल्टीबाट चार करोड ७७ लाख रूपैयाँ आम्दानी भएको छ ।
नक्सापासबाट एक करोड २० लाख रूपैयाँ, बहालकर ५४ लाख ४७ हजार रूपैयाँ आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर दुई करोड ४९ लाख रूपैयाँ, व्यवसाय कर ९२ लाख रूपैयाँ, सम्पत्ति कर ८२ लाख रूपैयाँ, दस्तुर दुई करोड ४५ लाख रूपैयाँ सङ्कलन गरिएको थियो ।
नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताइन् । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ । रासस