काठमाडौ । बिमा समितिले तोकेको न्यूनत चुक्तापुँजी नपुर्याउने विभिन्न ९ ओटा कम्पनीलाई के गर्ने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन ।
समितिले बोर्ड बैठक राखेर टुङ्गो लगाउनु पर्ने भए पनि उक्त विषयको टुङ्गो लगाउन सकेको छैन । पुँजी नपुगेका कम्पनीहरुलाई समितिले स्पष्टीकरण(लिखित जवाफ) सोधेको थियो । सोही लिखित जवाफमाथि छलफल भइरहेको भन्दै समितिले यो विषयमा टुङ्गो लगाउन नसकेको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बोर्ड बैठकले पुँजी नपुर्याएका कम्पनीको विषयमा हालसम्म निर्णय नगरेको बताए । उनले भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन, बोर्ड बैठकले छिट्टै गर्छ ।’ यसअघि समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पुँजी नपु¥याएका ९ कम्पनीले ३ महिनाभित्र पु¥याउन सक्ने मौखिक प्रतिबद्धता गरेको बताएका थिए ।
समितिले गत असारसम्म जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई पुँजी पुर्याउन समय दिएको थियो । सो समयसम्म पनि पुँजी पुर्याउन नसक्ने कम्पनीका विषयमा के गर्ने भन्ने छलफल समितिमा अझै चलिरहेको छ ।
समितिका अनुसार पुँजी पुर्याउन नसक्ने बिमा कम्पनीहरुमा जीवनतर्फ सूर्या लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र राष्ट्रिय बिमा संस्थान छन् । निर्जीवनतर्फ लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनी गरी जम्मा ९ ओटा कम्पनी छन् । अहिले जीवन बिमा १९ र निर्जीवन बिमा कम्पनी २० गरी कुल ३९ ओटा बिमा कम्पनी सञ्चालनमा छन् ।
समितिले २०७५ असार मसान्तसम्म जीवन बिमा कम्पनीलाई न्यूनतम २ अर्ब तथा निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी तोकेको छ ।
बिमा कम्पनीहरुले पुँजी बढाउन साधारणसभा बोलाएका छन् । कतिपयको साधारणसभाले बोनस पारित गरेपछि पुग्ने छ । केहीले हकप्रद सेयर निष्कासन गरेर पुर्याउने भएका छन् ।