काठमाडौं । नेपाल तथा भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुवै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधीकरणबीच एक अर्कोका देशको प्रयोगशालामा जाँच गरेका खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् ।
भारत सरकारको ‘फुड सेफ्टी एन्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया’ को हालैको निर्णयअनुसार नेपालको ‘नेसनल फुड एन्ड फिड ल्याब्रोटरी’ काठमाडौंले भारत सरकारको फुड सेफ्टी एन्ड स्टान्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरी मान्यता दिने व्यवस्था नेपालबाट भारततर्फ निकासी भइरहेका वस्तुमध्ये करिब २४ वस्तु, खाद्यपदार्थ, फलफूल तथा तरकारीले भारतीय बजारमा सहज, सरल र सुविधायुक्त प्रवेश पाउने कदमलाई चेम्बरले सकारात्मक रुपमा लिएको छ । यसबाट गैरभन्सार अवरोधलगायत प्रक्रियागत झन्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पु¥याउने आशा एवम् विश्वास चेम्बरले लिएको छ ।
सो निर्णयअनुसार नेपालबाट भारत निकासी हुने वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, बिस्कुट, बालबच्चालाई खुवाउने दूध, स्किम्ड होलमिल्क पाउडर, कन्ड्यान्स्ड मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफी, मह, ताजा फलफूल र तरकारी छन् ।
नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँचका लागि चेम्बरले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाली लेबोरेटरीले गरेको परीक्षणलाई मान्यता दिने कार्य अत्यन्त समय सान्दर्भिक, उचित एवम् स्वागतयोग्य भन्दै यसबाट निकासी प्रोत्साहन हुने अपेक्षा लिएको छ ।
साथै प्रत्येक भन्सार बिन्दुमा आधुनिक तथा सुसज्जित क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोगशाला स्थानपनामा समेत जोड दिनुपर्ने चेम्बरको भनाइ छ ।