काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अव्यवस्थित बसोबासको प्रकृति हेरेर समाधान गरिने बताएकी छन् । आइतबार राष्ट्रियसभामा भूमिसम्बन्धी ऐन, (आठौं संशोधन) विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
संसदमा बोल्दै मन्त्री अर्यालले अव्यवस्थित बसोबास १२ प्रकारका रहेको र मन्त्रालयले अव्यवस्थित बसोबासीको पनि पहिचान गरिसकेको र तिनलाई एउटै विधि र प्रक्रियाबाट समस्याका समाधान गर्न नसकिने बताइन् । त्यसैले फरकफरक विधि र प्रक्रियाबाट समस्या समाधान गरिने जानकारी दिइन् ।
‘ती सुकुम्बासी होइनन् अव्यवस्थित हुन् । घर बनाइसके, बस्ती बसिसक्यो, तिनलाई डोजर लगाएर लखट्ने सरकारको योजना छैन,’ मन्त्री अर्याल भनिन्, ‘तिनीहरुको व्यवस्थापन प्रकृति हेरेर मूल्याङ्कनका आधारमा ठाउँको निश्चित शुल्क लिएर व्यवस्थापन गर्न रजिस्ट्रेसन शुल्कका आधारमा नभएर अहिलेको परिस्थिति, ठाउँको आधार हेरेर व्यवस्थापन गरिने छ ।
मन्त्री अर्यालले भूमिको समुचित व्यवस्थापन गर्न भूमि ऐन ल्याइएको जानकारी दिइन् । संविधानले नै अब भूमिहीन कोही हुँदैन भनेर उल्लेख गरेको भन्दै उनले त्यसैअनुसार जोसँग कुनै पनि ठाउँमा जमिनको एक टुक्रा छैन तिनलाई पनि तोकिएको निश्चित क्षेत्रफलमा निशुल्क जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने गरी ऐन ल्याइएको जानकारी गराइन् ।
मन्त्री अर्यालले ऐनमा ५ प्रकारका जमिन दिन नमिल्ने भनेर नेगेटिभ लिस्टमा राखिएको र वन मास्ने अभियान हो कि भन्ने कुरा पनि आएकामा त्यो गलत रहेको बताइन् । ‘हामी सरकारका तर्फबाट एउटा कुनै पनि रुख मासेर अव्यवस्थित बसोबासको व्यवस्थापन गर्दैनौं,’ मन्त्री अर्यालले भनीन्, ‘अहिले हेर्दा सहर छ, नक्सामा वन क्षेत्र देखिन्छ । यिनको व्यवस्थापनको कुरा मात्रै यो ऐनमा आएको हो ।’
ऐनमा नाप, नक्साका सन्दर्भमा पुनः नापी तथा छुट दर्ता गर्ने कुरा समाधान गर्न सरकारका तर्फबाट सम्बोधन भएको र अब मुलुकभरिकै भूमि पुनः नापी गर्ने मन्त्री अर्यालले बताइन् ।
निजी क्षेत्रलाई आकर्षित बनाएर लैजानु पर्ने भन्दै उनले व्यक्तिगत प्रयोजनका लागि जथाभावी गर्ने गरी उद्योग धन्दालाई हदबन्दीभन्दा बढी जग्गा चाहिए सरकारले व्यवस्था गरिदिने व्यवस्था गरेको छ ।
भूमिसम्बन्धी ऐन, (आठौं संशोधन) विधेयक २०७५ का प्रमुख विशेषता
१. भूमिहिन सुकुम्वासीहरूलाई तोकिएको क्षेत्रफल निशुल्क र अव्यवस्थित बसोवासीहरूलाई प्रकृति, क्षेत्रफल, मूल्यांकन र आबाद कमोतको अबधि समेत हेरी निश्चित शुल्क लिई जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको ।
२. भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई उपलब्ध गराइएको जग्गा अंशबण्डा र अपुतालीको अबस्थामा वाहेक अन्य कुनै प्रकृयाबाट दश बर्षसम्म कुनै व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाइने ।
३. भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई जग्गा उपलब्ध गराउँदा प्रदेश सरकार र स्थानिय तहहरू सँग समन्वयमा गर्ने व्यवस्था ।
४. काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा भूमिहिन सुकुम्वासीहरूलाई आवश्यकताअनुसार रोजगारको लागी पायक पर्ने स्थानमा आवास उपलब्ध गराउने वा सामुदायिक बसोबासको व्यवस्था मिलाउन वा जग्गा विकासको माध्यमबाट जग्गा उपलब्ध गराउने व्यवस्था ।
५. गलत विवरण पेश गरी जग्गा प्राप्त गर्ने र गलत सिफारिस गर्नेलाई दण्ड सजायको व्यवस्था ।
६. धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्र भित्रका जग्गा, प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन र वातावरणीय संरक्षणको दृष्टिकोणबाट सुरक्षित गर्न आवश्यक देखिएको जग्गा, सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा, जोखिमयुक्त स्थानमा बसोबास गरिएको जग्गा, हाल रुख विरुवाले ढाकिएको वनको जग्गा र सडक सीमाभित्रका जग्गा भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई उपलब्ध नगराइने व्यवस्था ।
१. मोहीको लागी तोकिएको हदबन्दी हटाउन प्रस्ताव गरिएको ।
२. जग्गाधनी र मोही दुवैथरी आपसमा मन्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नुपर्ने भए सो समेत बुझी नरम करम मिलाई जग्गा बाँडफाँड गरी मोही लगत कट्टा गरिदिने व्यवस्था भएको ।
३. जग्गाधनी र मोहीबीच बाँडफाँड गर्नुपर्ने जग्गा क्षेत्रफल वा मूल्यांकनको आधारमा आधा आधा हुनेगरी वाँडफाँड गर्ने व्यवस्था ।
७. व्यवसायिक कृषि वा सहकारी खेती वा सामुहिक खेती गर्ने उद्देश्यले स्थापना भएका संघ, संस्था, समुह, कम्पनी, उद्योग, सहकारी जस्ता निकायहरूलाई नेपाल सरकारले हदबन्दीमा छुट दिन सक्नेछ । (जमिनको चक्लाबन्दी मार्फत कृषिको व्यवसायिकरण, सामुहिक खेती वा सहकारी खेतीलाई प्रोत्साहन स्वरुप हदवन्दीमा छुट दिने व्यवस्था गरेको छ)
८. कम्तिमा दश वर्ष अघिदेखी आवाद कमोत भएको ऐलानी वा अन्य सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएको भएतापनि आवादीमा परिणत भएको जग्गामा आबाद कमोत गरी आएका भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई एक पटकका लागि नेपाल सरकारले निजहरूले आबाद कमोत गर्दै आएको स्थानमा वा नेपाल सरकारले उपयुक्त ठहर्याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने ।
९. भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी लगन लिने, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी निजहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनको लागि नेपाल सरकारले आयोग गठन गर्ने व्यवस्था ।
१०. नेपाल सरकारले निर्णय बमोजिम गठन भएका विभिन्न आयोग वा कार्यदलले वितरण गरेका जग्गाहरूको स्वामित्व वा दर्ता श्रेष्ता वा नक्सा प्रमाणिक लगायतका विषयमा देखिएका समस्याहरूको समाधान समेत आयोगबाट गर्ने व्यवस्था ।
११. आयोगको काम कारवाहीलाई सहयोग, समन्वय र सहजिकरण गर्न नेपाल सरकारले आवश्यकता अनुसार जिल्लास्तरमा संयन्त्र गठन गर्ने व्यवस्था ।
१२. हदबन्दी भन्दा बढी जग्गा खरिद गर्न वा राख्न स्वीकृति पाएका कृषि फार्म, उद्योग, प्रतिष्ठान वा कम्पनीले स्वीकृति प्राप्त गर्दाको उद्देश्य अनुरूप प्रयोग गरे वा नगरेको सम्बन्धमा स्थलगत रूपमा अनुगमन त रीक्षण गर्न समिति गठन गर्ने ।