काठमाडौं । काठमाडौ महानगरपालिकाले आइतबारदेखि महानगरका भित्री तीन ओटा वडा (१२, १८ र २१)को घरेलु फोहोरलाई कुहिने र नकुहिने छुट्याएर सङ्कलन गर्न सुरु गरेको छ ।
यसरी छुट्याइएको फोहोरमध्ये आइतबार, मङगलबार, बिहीबार र शनिबार हप्ताको ४ दिन कुहिने र सोमबार र बुधबार २ दिन नकुहिने फोहोर सङ्कलन गरिने भएको छ ।
आइतबार वडाबासीलाई यस विषयको जानकारी दिन वडा १८ ले सचेतनामूलक र्यालीको आयोजना गरेको थियो । यसै क्रममा कुहिने फोहोर लिन हरियो रङ्ग लगाएको र नकुहिने फोहोर लि रातो रङ्ग लगाएको गाडी पठाउने वडा १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए । उनले घरायसी कामबाट उत्पादन भएको कुहिने फोहोर छुट्टै भाँडामा जम्मा गर्न र नकुहिने फोहोर छुट्टै भाँडामा राख्न पनि आग्रह गरे ।
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोर उत्पादकलाई व्यवस्थापनमा जिम्मेवार बनाएको छ । ‘यो व्यवस्थालाई नागरिकसँगै मिलेर कार्यान्वयन गर्ने हाम्रो प्रयास हो,’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘नागरिकले कुहिने र नकुहिने फोहोर छुट्याएर राखिदिनुभयो भने हामी छुट्टाछुट्टै सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्छौ’ ।’
अहिले नमुनाका रुपमा ३ ओटा वडामा काम थालिएको उनले जानकारी दिए । अहिले खाल्टे मलका रुपमा बिकास गर्न टेकु ट्रान्सफर साइट नजिकै जैविक फोहोर राख्ने खाल्टो तयार भइसकेको छ ।
काठमाडौं महानगरबाट उत्पादन हुने दैनिक करिब ५१६ मेट्रिक टनसहित उपत्यकाबाट दैनिक १,०४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोर नगरपालिकाहरुसँगै केही निजी कम्पनी तथा गैरसरकारी सङ्घसंस्थाले सङ्कलन र ढुवानी गरेर अन्तिम व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट पुर्याउँछन् ।
सङ्कलित फोहोरमध्ये नेम्सेम्याकले ३ मेट्रिक टन जैविक फोहोरलाई मल बनाउँछ । यो प्रणालीमा सुधार गरेर सङ्कलित फोहोरको करिब ६० प्रतिशत जैविक फोहोरलाई कम्पोस्ट प्लान्टको माध्यमबाट कम्पोस्ट मलमा रुपान्तरण गर्ने, नकुहिने करिब ४० प्रतिशतमध्ये ३० प्रतिशत र बाँकी १० प्रतिशत कामै नलाग्ने फोहोरवस्तुलाई मात्र अन्तिम व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइटमा पुर्याउने महानगरको योजना छ ।