आकाशमा एयरलाइन्सले नै गराउँछन् ट्राफिक जाम

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ भदाै १५, आइतबार ,१०:२०:AM  
आकाशमा एयरलाइन्सले नै गराउँछन् ट्राफिक जाम

काठमाडाैं । नेपाली आकाशमा पछिल्लो समय हवाई ट्राफिक बढ्दै गएको छ । सडकमा सडक जाम भएर आजित यात्रीहरु हवाई यात्रामा समेत यो समस्याबाट आजित छन् । एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले घरेलु विमानका साथै अन्तर्राष्ट्रिय विमानको चापलाई प्रभावकारी रुपमा नथेग्दा हवाई ‘जाम’ बढ्दै गएको अनुमान गर्न सकिन्छ । 

हवाईजहाजहरुको चाप बढ्दै गएपछि विमानस्थल प्रशासनले उडान भर्न नमिल्ने सूचना ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरे पनि त्यसलाई एयरलाइन्स कम्पनीले बेवास्ता गर्दा आकाशमै जाममा फस्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले इन्धन खपतलाई एकातिर बढाइरहेको छ भने अर्कोतिर यात्रीहरु मनोवैज्ञानिक त्रासमा बसिरहनुपरेको छ । एयरलाइन्सहरुले २ दिनअघिनै नोटाम पाइसके पनि अर्काे उडानको तालिका भेट्न नोटामलाई बेवास्ता गर्दै विमानहरु आकाशमाथि पालो पर्खिने गरेको पाइएको छ । 

विशेषगरी मुलुकभित्र र बाहिरका महत्वपूर्ण व्यक्तिहरु (भीभीआईपी) उडानका बेला बढी जहाज आकाशमै पालो कुरेर बस्ने गरेको पाइन्छ । उडानका क्रममा भीभीआईपीलाई विशेष महङ्खव दिनु विश्वव्यापी चलन हो । त्यसैका आधारमा विमानस्थल प्रशासनले भीभीआईपीको उडानका लागि आवश्यक समयसीमा तोकेर त्यसपछि मात्रै नियमित उडान पुनः सुरु हुने सूचना एयरलाइन्स कम्पनीहरुलाई दिने गर्छ । तर एयरलाइन्सहरुले नोटामको बेवास्ता गर्दै उडान गर्दा यात्रुहरुले सास्ती मात्र पाउँदैनन्, आकाशको उडान तालिकासमेत अस्तव्यस्त हुन पुग्छ । आफूले पाएको सूचनालाई बेवास्ता गर्दै जहाज उडाएर आकाशमा लामो समयसम्म ‘होल्ड’ गर्दै जनसाधारणको आक्रोशलाई उचाल्न मद्दत गरिरहेको पाइन्छ । 

भीभीआईपीलाई विशेष महत्व  दिएर उडान गर्ने कार्यक्रम नेपालमा मात्र नभई विश्वभर नै छ । तर नेपालको विमानस्थलमा एउटा मात्रै रनवे हुँदा त्यही रनवे सबैले प्रयोग गर्नुपर्ने कारण अरु एयरलाइन्सहरु पालो कुरेर बस्नुपर्ने हुन्छ । अन्य मुलुकमा भएर एउटा रनवे भीभीआईपीले प्रयोग गरे पनि अरु रनवेमा नियमित उडान गर्ने व्यवस्था हुने हुनाले यात्रीले के भएको छ भनेर जानकारीसमेत पाउँदैनन् र भीभीआईपीको उडान तालिकाबारे बहस र चर्चा हुँदैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सुरक्षा संवेदनशीलता भन्दै भीभीआईपीलाई लक्ष्य गरी आकाश खाली गराउँदै आएको छ । सडक मार्ग खाली गर्दा जामबाहेक अन्य संवेदनशील घटना हुने सम्भावना नभए पनि एयर ट्राफिक जाम हुँदा भने ठूलो जोखिम हुने गरेको छ । नेपाली आकाशमै ३ घण्टाभन्दा बढी समय जहाज होल्ड गर्नुपरेको घटना छन् । यसले दुर्घटनाको ठूलो जोखिम त निम्त्याउँछ नै, त्यसले पार्ने आर्थिक र मानसिक प्रभाव अर्को समस्याका रुपमा रहने गरेको छ ।

२०७६ असार ६ गते भारतको दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ३ घण्टा २५ मिनेट आकाशमै होल्ड भएको थियो । जब कि दिल्लीबाट काठमाडौंको हवाई दूरी एक घण्टा ३५ मिनेटको हो । वाइडबडीले प्रति २० मिनेट हवाई इन्धन एक हजार ९ लिटर खपत गर्छ । यस आधारमा हेर्दा तीन घण्टा २५ मिनेटमा १० हजार ३ सय ४२ लिटर इन्धन खपत हुन्छ । अहिले ९५ रुपैयाँ ५० पैसा इन्धनको मूल्य राख्ने हो भने होल्ड हुँदा मात्र ९ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको देखिन्छ । 

भीभीआईपी उडानलाई लिएर पछिल्लो समय धेरै आलोचना हुँदै आएको छ । केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्कँदा एयर ट्राफिक जाम भएको थियो । त्यसको चौतर्फी आलोचना भएको छ । यस्तो हुनुमा एयरलाइन्स कम्पनी मुख्य दोषी देखिन्छन् । 

भीभीआईपी उडान मात्रै होइन, रनवेमा देखिने समस्या तथा जहाजमै देखिने आन्तरिक समस्याका कारण पनि एयर ट्राफिक जाम हुने गरेको छ । रनवेबाट कहिले जहाज चिप्लिने त कहिले रनवेमै जहाजको चक्का अड्किने जस्ता समस्या दोहोरिरहेका छन् ।

त्यसैलाई मध्यनजर गर्दै स्व. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकै पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माणको काम भएको छ । तीन महिना अघिबाट सुरु भएको धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ । हाल वर्षात्का कारण धावनमार्ग निर्माण रोकिए पनि आगामी जनवरीभित्र सम्पूर्ण काम सकिनेछन् । धावनमार्गको समस्या समधान हुनेबित्तिकै एयर ट्राफिक जामको ५० प्रतिशत समस्या समधान हुने विमानस्थल प्रशासनको भनाइ छ । 

कतिपय बेला जहाजहरुले उडान र अवतरणको निर्धारित समय तालिका प्रभावमा पार्न खोज्दा पनि ट्राफिक जाम हुने गरेको छ । समयमा इन्धन नभर्ने र यात्रुहरु समयमै नपुग्दा पनि जहाज उड्न ढिलाइ हुने अवस्था आउँदा अर्को जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आउँछ ।

जसका कारण त्यसपछिका सबै उडान प्रभावित हुने अवस्था सिर्जना हुन्छ । विमान कम्पनीहरुले विमानस्थल प्रशासनलाई र विमानस्थल प्रशासनले विमान कम्पनीलाई दोष लगाउँदै आएका छन् ।वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष पवित्राकुमार कार्कीले यात्रुलाई खुसी बनाउनकै लागि नोटाम जारी हुँदा पनि जहाज उडाउने गरेको बताए ।

‘जहाज डिले हुने भयो भन्ने जानकारी यात्रुहरुलाई दिनेबित्तिकै उनीहरु आक्रोशित हुन्छन् । र कर्मचारीहरुलाई नै हातपात गर्न खोज्छन्,’ अध्यक्ष कार्कीले भने, ‘यस्तो झन्झट बेहोर्नुभन्दा आकाशमै होल्ड गराउँदा ठीक हुन्छ भन्ने सोचले जहाज होल्ड गराउँछौं ।’

नोटाम सकिएपछि जहाज उड्दा अर्को थप एक/डेढ घण्टा समय लाग्ने भएकाले यात्रुहरुलाई थप समस्या पर्ने देखेरै जहाज उडाउने र आकाशमै होल्ड गर्ने गरिएको वायुसेवा सञ्चालकहरुको भनाइ छ । 

यती एयरलाइन्सका सिनियर म्यानेजर भीमराज राईले नोटाम जारी भएको समयसीमा सकेर उडान गर्दा थप समस्या आउने भएकैले आकाशमा जहाज होल्ड गराउने गरिएको बताए । यसरी जहाज उडाउँदा यात्रुहरुलाई केही मात्रामा भए पनि असुरक्षित भने महसुस नहुने राईको भनाइ छ । ‘आकाशमा हुँदा अर्को जहाजसँग ठोकिन्छ कि भन्ने मात्र हो, सिनियर म्यानेजर राईले भने, ‘नत्र अरु संवेदनशील घटना केही हुन्न ।’

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नोटाम जारीको विषयमा दुई दिनअघि नै एयरलाइन्स कम्पनीहरुलाई जानकारी गराउने गरिएको बताए । एक अन्तर्राष्ट्रिय एयरलाइन्सका नेपाल प्रतिनिधि भने विमानस्थलले नोटाम जारीको सूचना समयमै नदिएका कारण समस्या भएको दाबी गर्छन् । विमानस्थलले बेलैमा नोटाम जारीको सूचना दिए त्यहीअनुसारको तयारीका साथ जहाज उडाउने ती अधिकारीले बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले हवाई जाम पहिलाभन्दा धेरै कम भएको जानकारी दिए । नोटाम जारी गर्न कुनै पनि भीभीआईपीले दबाब नदिने गरेको बताउँदै अन्तर्राष्ट्रिय प्रचलनलाई नै ‘फलो’ गरेको उनको भनाइ छ । 

किन यस्तो हुन्छ ?
विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार जहाज हावाको वेगमा उड्ने भएका कारण २० देखि ३० मिनेटको समय तलमाथि पर्ने गर्छ । हावा तीव्र गतिमा चल्यो भने ३० मिनेटअघि नै नेपाल आइपुग्छ र नोटाम छल्न सक्छ वा ढिला हुँदा पनि नोटाम छलिन्छ भन्ने सोचका साथ उनीहरुले जहाजलाई नेपाल पठाउने गरेका छन् । तर हावाको बेग ढिला चल्यो र नोटाम जारी भएपछि मात्र नेपालमा जहाज आउँदा आकाशमा होल्ड गर्नुपर्ने बाध्यता हुन्छ ।

जहाज डाइभर्ड गरिन्छ
लामो समयसम्म जहाज होल्ड गर्दा इन्धन सकिने हुँदा नजिकको अन्तर्राष्ट्रिय (भारतका विभिन्न) विमानस्थलमा जहाज डाइभर्ड गराउने गरेको पाइन्छ भने केही बीचबाटै फर्किएर बङ्गलादेशमा समेत जाने गरेका छन् । स्थानीय जहाजहरु भने अधिकांश आकाशमै होल्ड गर्ने र अत्यन्तै धेरै समय लाग्ने भए मात्रै अन्य स्थानीय विमानस्थलमा जाने गरेको पाइन्छ । यसरी बीच बाटोबाट अर्को देशमा डाइभर्ट गर्दा एयरलाइन्सलाई ठूलो घाटा हुनुका साथै यात्रुहरुलाई समेत नोक्सान पुग्ने गरेको छ । 

मौसमका कारण पनि होल्ड हुन्छ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र नभएर अन्य आन्तरिक विमानस्थलहरुमा पनि समस्या आउँदा जहाज होल्ड हुने गरेको छ । कतिपय विमानस्थलमा मौसम खराबीका कारण उडान बन्द हुदा त्यसको असर अन्य विमानस्थलमा पुग्ने गरेको छ । हिमाली र तराई क्षेत्रमा मौसमले धेरै प्रभाव पार्दै आएको छ भने केही विमानस्थलमा हुने लापरबाहीका कारण कुकुर, स्याल र मुसाहरु रनवेमा पस्दा तत्काल जहाज अवतरण गर्न नमिल्ने भई जहाज होल्ड गर्नुपर्ने अवस्था आउँछ ।

भीभीआईपी उडानले २.५ प्रतिशत मात्र ढिलाइ
भीभीआईपी उडानका कारण जहाज होल्ड भएको दोष दिइने गरे पनि क्यानको एक अध्ययनले भने वर्षभरमा करिब २.५ प्रतिशत मात्र भीभीआईपी उडानको बेला जहाज होल्ड हुने गरेको छ । क्यानका उडान सञ्चालन विभागका प्रमुख सुरेशमान सिहंले भीभीआईपी उडान हुदा वर्षभरिमा करिब २.५ प्रतिशत मात्र जहाज डिले हुने गरेको बताए ।

नेपालमा उडान गर्ने अधिकांश एयरलाइन्सहरुले नोटामलाई बेवास्ता गर्दै जहाज उडाउने गरेपछि आलोचना बढेको र त्यसबारे केही एयरलाइन्स कम्पनीहरुसँग स्पष्टीकरण सोधिएको सिंहले बताए । नोटामलाई बेवास्ता गरेकै कारण क्यानको भूमिकामा समेत प्रश्न उठ्दै आएको छ । उनले आउँदा दिन यस्तो स्थिति आउन नदिन नेपालमा उडान गर्ने सबै एयरलाइन्सलाई सचेत गराइएको बताए ।

नयाँ दुई विमानस्थलले समस्या समाधान होला ?
सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदासमेत भीभीआईपी उडानको बेला हुने एयर ट्राफिक जाम अन्त्य हुँदैन । जुन विमानस्थलबाट भीभीआईपीको उडान हुन्छ, त्यहाँ एयर ट्राफिक जाम हुन्छ । किनकि ती दुवै विमानस्थलमा पनि एक/एक ओटा मात्र रनवेको परिकल्पना गरिएको छ ।

कसरी हुन्छ समाधान ?
भीभीआईपी उडानका बेला हुने एयर ट्राफिक जाम न्यूनीकरण गर्न एयरलाइन्सहरुले नोटामलाई फलो गर्नुको विकल्प नभएको क्यानका अधिकारीहरुको भनाइ छ । क्यान निर्माण भएदेखि नै लागू हुँदै आएको नियम परिवर्तन गर्न नसकिने बताउँदै उडान सञ्चालन विभागका प्रमुख सिंहले विमानस्थलले जारी गरेको नोटामलाई एयरलाइन्सहरुले फलो गरेर जहाज उडाएमा समस्या समधान हुने दाबी गरे । यसका लागि नेपालमा आउने अन्तर्राष्ट्रिय एयरलाइन्स र आन्तरिक एयरलाइन्सहरुसँग छलफललाई तीव्र पारिएको पनि उनको दाबी छ ।

तर, मन्त्रालय बेखबर
भीभीआईपी उडानका बेला हुने एयर ट्राफिक जाम न्यूनीकरण गर्न पर्यटन मन्त्रालयमा कुनै छलफल भएको छैन । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले एयर ट्राफिक जामलाई कन्ट्रोल गर्ने निकाय क्यान भएकाले यस विषयमा मन्त्रालयमा कुनै छलफल अगाडि नबढेको बताए । 

प्रधानमन्त्री ओली नै फसे आकाशमा
प्रधानमन्त्री केपी शर्मा ओली नै एयर ट्राफिक जामको सिकार भएका छन् । २०७५ फागुन २१ गते गृहजिल्ला झापाबाट काठमाडौं आउने क्रममा करिब ३० मिनेट जहाज आकाशमै होल्ड भएको थियो । प्रधानमन्त्री चढेको जहाज नै आकाशमा होल्ड भएपछि पर्यटन मन्त्रालयले छानबिन समिति बनाएर केहीलाई कारबाहीको सिफारिस पनि गरेको कुरा बाहिर आए पनि त्यसको आधिकारिक जानकारी भने अझै दिइएको छैन ।

एयरलाइन्सले सही सूचना नदिँदा समस्या
एयरलाइन्सहरुले सही सूचना नदिँदा जहाजमा रहेका यात्रु पनि समस्यामा पर्ने गरेका छन् । जहाज आकाशमा होल्ड भइरहेको हुन्छ । तर किन र कति समय होल्ड हुन्छ भन्ने विषयमा यात्रुलाई कुनै जानकारी दिइँदैन । यसले गर्दा केही हुन लागेको हो कि भनेर यात्रुहरु आत्तिने गरेको पाइन्छ ।

वातावरण संरक्षण शिविर (एक्का) नेपालका कार्यक्रम अधिकृत विपीनकुमार श्रेष्ठले भरतपुर (चितवन)बाट काठमाडौं आउन २० मिनेट लाग्ने गरेकोमा १ घण्टासम्म आकाशमै जहाज होल्ड भएको अनुभव सुनाए । उनले किन र कति समय होल्ड हुने हो भनेर सम्बन्धित जहाजले यात्रुलाई जानकारी नदिँदा जहाजका सबै यात्रु आत्तिएको अनुभव सुनाए । यात्रुहरुलाई विशेषगरी जहाजमा इन्धनको बढी चिन्ता हुने गरेको छ । कतै आकाशमा होल्ड हुँदाहुँदै इन्धन सकियो भने के हुन्छ ? भन्ने प्रश्न धेरै यात्रुहरुमा रहेको पाइन्छ । यस विषयमा जहाजमा रहेका एयर होस्टेजहरुले स्पष्ट जानकारी दिए यात्रुहरुको चिन्ता कम हुने श्रेष्ठले बताए ।

यात्रुलाई खुसी बनाउन आकाशमा होल्ड 
पवित्राकुमार कार्की
अध्यक्ष, वायुसेवा सञ्चालक सङ्घ, नेपाल 

नेपालमा कुनै सुरक्षा थ्रेट छैन । तर भीभीआईपी उडानको बेला विमानस्थलले लामो समयसम्म नोटाम जारी गर्ने गरिएको छ । भीभीआईपीहरुले यसबारे कुनै निर्देशन दिएको पनि जानकारीमा छैन । तर विमानस्थलले भने नोटाम जारी गर्छ । यस विषयमा हामी पनि अनभिज्ञ छौं । 

नोटाम जारी भएको सूचना पाउँदापाउँदै पनि यात्रुहरुलाई खुसी बनाउन जहाज उडाउने र आकाशमा होल्ड गराउने गरिएको छ । विशेषगरी आन्तरिक उडानमा धेरै समस्या हुने गरेको छ ।उडान डिले हुने जानकारी गराउनेबित्तिकै यात्रुहरु धेरै आक्रोशित हुने र कर्मचारीहरुलाई हातपात गर्नसमेत खोज्ने प्रवृत्ति बढेपछि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थलबाट उडान गर्ने गरेका छौं । 

उडान तालिका भनेको तालिका (सेडुअल) नै हो । कहिलेकाहीँ १ घण्टासम्म नोटाम जारी भएको हुन्छ । त्यसले हवाई क्षेत्रमा ठूलो प्रभाव पार्छ । त्यही प्रभाव चिर्नका लागि नोटामको प्रवाह नगरी आकाशमा जहाज होल्ड गर्ने गरिएको हो । आकाशमा जहाज होल्ड हुँदा एयरलाइन्सहरुलाई थप इन्धनको समस्या हुन्छ । यससम्बन्धी कुनै पनि निकायको ध्यान जान सकेको छैन । यसमा भीभीआईपीले पनि आम यात्रुहरुका विषयमा बुुझ्न जरुरी छ ।

भीभीआईपी उडान हुँदा नेपाली सेनाको ब्यारेक हँुदै जाने हो । यसरी हेर्दा आन्तरिकतर्फ जहाज उडाउन रोक लगाउनुपर्ने कुनै कारण देखिँदैन । तर नेपालमा भीभीआईपीको चासोले हो या कसैको स्वार्थका कारण हो, लामो समयसम्म विमानस्थल बन्द गराउने प्रचलन बढेको छ । एयरलाइन्सहरुको सञ्चालन खर्चमध्ये ३५ प्रतिशत खर्च इन्धनमा हुन्छ । त्यसमा पनि आकाशमा लामो समयसम्म होल्ड गराउनुपर्दा थप इन्धन जाने हँुदा एयरलाइन्सहरु समस्याग्रस्त हुने अवस्थामा पुग्ने गरेका छन् । 

एयरलाइन्सहरुले जबर्जस्ती गर्दा होल्ड हुन्छ 
सीताराम भण्डारी
उपनिर्देशक
एटीएस/एसएआर महाशाखा

नोटाम जारी भएको बेला जहाज होल्ड गराउन विभिन्न स्टेसन बनाइएको हुन्छ । जुन स्टापलिस्ट होल्डिङ (पहिलादेखि नै बनाएको) हुन्छ । यहाँ जहाज राख्ने, यति गतिमा उड्ने र यो भर्टिकल हाइटमा बस्ने टुङ्गो लागिसकेको हुन्छ । र जहाजलाई एटीसीहरुले यो स्टेसनमा गएर बस्नुस् भनेर जानकारी गराइएको हुन्छ । 

नेपालमा दुई किसिमले जहाज उडान गरिन्छ । एक आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) र स्पेसएक्सले बिग फाल्कन रकेट (बीएफआर)को प्रयोग गरी जहाज उडान र अवतरण गराउने गरिन्छ । आईएफआर फ्लाइट भयो भने तोकिएको होल्डिङमा गएर बस्न हुन्छ र बीएफआर फ्लाइट छ भने निश्चित एरियामा एटीसीले तोकेको ठाउँमा जुन ठाउँमा पाइलटले पनि सक्छु भन्नुप¥यो, ती ठाउँमा लगेर जहाज होल्ड गराउने गरिन्छ ।

आन्तरिक विमानस्थलहरुमा पटकपटक जानकारी गराएका हुन्छौं, नोटाम जारी हुँदै छ र तत्काल जहाज उडाउन हुँदैन भनेर । तर एयरलाइन्सहरुले नै जबर्जस्ती गरेर हामी जहाज उडाउँछौं । र आकाशमा होल्ड गराउँछौं भनेपछि हाम्रो केही लाग्दैन । त्यो उहाँहरुको कुरा हो । तर सेफ्टीका हिसाबले त्यो सही भएन । 

हामीले व्यवस्थापन गरिरहेका हुन्छौं । तर एयरलाइन्सहरुले जबर्जस्ती गर्दा बढी आलोचना हुने गरेको हो । आकाशमा होल्ड हुँदा जोखिम हुन्न । हामीले पाँच तरिका अपनाएर जहाज होल्ड गराउने गरिन्छ । फिक्स, लेभल, इनबाउन्ड होल, टर्न र कुन टाइममा होल्ड गराउने भन्ने तय पहिला नै हुने भएकाले कुनै समस्या हुन्न । तर कहिलेकाहीँ मौसमका कारण समस्या आएर होल्ड गराउन नसक्ने अवस्था आएमा पाइलटले हामीलाई जानकारी गराउनु हुन्छ र हामी त्यहीअनुसारले व्यवस्थापन गर्छौं । जहाज डाइभर्ड गराउनुमा मुख्य कारण त इन्धन थोरै भएकै कारण हो ।

भीभीआईपी उडानको बेला दुई दिनअघि नै जानकारी गराउने गरिएको हुन्छ । विशेषगरी लामा उडानहरुलाई जानकारी दिन खबर गरिन्छ । अहिले भीभीआईपी उडानमा लाग्ने नोटाम घटाउँदै गएका छौं । सुरुमा ४५ मिनेटभन्दा बढी विमानस्थल बन्द गरिन्थ्यो भने अहिले ३० मिनेटमा झारिएको छ । देशभरमा करिब १ सय ५० जनाभन्दा बढी एटीसीहरु छन् ।

क्यापिटल बिजनेस म्यागजिनबाट

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');