सुन्दर यातायातको बिजुली बस गुड्यो, दीर्घकालीन सेवा देला त ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार,०३:०८:PM  
सुन्दर यातायातको बिजुली बस गुड्यो, दीर्घकालीन सेवा देला त ?

काठमाडौं । सार्वजनिक यातायातका रुपमा बिजुली बस मात्रै सञ्चालन गर्ने निजी क्षेत्रको लगानीमा उदाएको सुन्दर यातायात प्रालिले पहिलो पटक काठमाडौं उपत्यकाभित्र बिजुली बस सञ्चालनमा ल्याएको छ । काठमाडौंमा सोमबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस सञ्चालनको उद्घाटन गरे । 

सुन्दर यातायातले ४ ओटा बिजुली बस सञ्चालनमा ल्याई सेवा सुरु गरेको हो । तत्काल चार्जिङ स्टेसनको अभाव र रुट÷परमिटको टुङ्गो नलागेका कारण ल्याइएका ७ ओटामध्ये ४ ओटा मात्रै बस सञ्चालन गरिएको सुन्दर यातायात प्रालिका सञ्चालक अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । 

सोमबारबाट सुन्दर यातायातका बिजुली बस भृकुटीमण्डप हुँदै माइतीघर, बानेश्वर भएर चक्रपथ परिक्रमा गरेको छ । बिजुली बस चार्ज गर्न ५ स्थानमा सुन्दरले आफ्नै होम चार्जिङ मेसिन राखेर सेवा दिएको थापाले बताए । 

ढुङ्गेअड्डादेखि जोरपाटीसम्म, एयरपोर्ट-तीनकुने-त्रिपुरेश्वर-न्युरोड-ठमेल-दरबारमार्ग हुँदै पुनः एयरपोर्ट, भक्तपुरदेखि सूर्यविनायक र न्युरोडदेखि नारायणस्थानका भित्री सडकमा बिजुली बस चल्नेछन् ।

अन्य सवारीभन्दा २० प्रतिशत भाडा सस्तो

सुन्दर यातायातले सञ्चालनमा ल्याएका बिजुली बसको भाडा अन्य सार्वजनिक यातायातको तुलनामा २० प्रतिशत सस्तो पर्ने कम्पनीले जनाएको छ । सुन्दरले आन्तरिक रुपमा २० प्रतिशत भाडा सस्तो गरेको प्रालिका अध्यक्ष थापाको भनाइ छ । अन्य सवारीसाधनको तुलनामा कम्तीमा ५ रुपैयाँ सस्तो हुने थापाको तर्क छ ।

बिजुली बसमा यस्ता छन् सेवा

बसमा यात्रा गर्ने यात्रुले स्मार्ट कार्डमार्फत भाडा तिर्न सक्नेछन् । यसले पैसा बोकेर हिँड्नुपर्ने समस्या हट्नेछ । त्यस्तै, मोबाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । अहिले कम्पनीले यो प्रणालीको परीक्षण गरिरहेको छ । बसमा नै आधुनिक स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । बसको भित्री बनोट आकर्षक र सीट पनि आरामदायी छन् । ज्येष्ठ नागरिक, वृद्ध, महिला र अशक्तलाई भाडामा छुट हुनेछ । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितका यी बस यात्रा गर्न आरामदायी पनि हुनेछन् । 

पर्यटन वर्ष २०२० का पर्यटकलाई विशेष सेवा दिइने

सञ्चालनमा ल्याइएका बिजुली बस पर्यटन वर्ष २०२० मा आउने पर्यटकलाई विशेष सेवा दिने योजना सुन्दर यातायातले जनाएको छ । काठमाडौंका विभिन्न क्षेत्र, धार्मिक स्थललगायतमा पुग्ने पर्यटकलाई पनि बिजुली बसमार्फत सेवा दिइने थापाको भनाइ छ । ‘पर्यटन वर्ष २०२० कै सङ्घारमा छौं । पर्यटकले धूँवारहित र सफा सवारी खोज्ने गर्छन्’ थापाले भने, ‘काठमाडौंसहित बुटवल र लुम्बिनीमा समेत सेवा दिँदैछौं ।’ 

एक महिनाभित्र सुन्दरले थप ११ ओटा बिजुली बस थप्दैछ । केही बिजुली बस बुटवल र लुम्बिनी क्षेत्रमा चलाइने छ । बिजुली बस पर्यटकलाई गुणस्तरीय सेवा दिनेगरी सञ्चालनको योजना बनाइएको थापाको भनाइ छ ।  

कसरी उदायो सुन्दर यातायात ?

सार्वजनिक यातायातका रुपमा बिजुली बस मात्रै सञ्चालन गर्ने उद्देश्यले २०७५ असारमा निजी क्षेत्रका ८३ जना व्यवसायी मिलेर सुन्दर यातायात प्रालि दर्ता गरे । त्यस्तै, बिजुली बस खरिद गर्न पनि सुन्दर ट्रेडर्स प्रालि दर्ता गरी चीनको गाडी उत्पादक कम्पनी (बीएके)सँग पहिलो पटक सम्झौता भयो । सुन्दर यातायात प्रालि र बीएके कम्पनीबीचको समझदारीअनुसार नेपालका सडक सुहाउँदा  बस खरिद र सञ्चालन गर्ने सम्झौता भयो । पटक पटक सरकार र सरोकारवालसँग बिजुली बस सञ्चालनबारे सुन्दरले छलफलसमेत चलायो । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली बस सञ्चालन गर्न सहज वातावरण जुटाइदिने र सहयोग गर्ने भने पछि बिजुली बस चलाउन कम्पनी अघि बढेको हो । 

यसअघि साझा यातायातले सञ्चालन गरेका बिजुली बस अहिले ग्यारेजमा थन्किएका छन् । बस सञ्चालन व्यवस्थापन, गुणस्तरीय सेवा, गाडीको गुणस्तर, छुट, मेसिन, उपकरण र मर्मतको व्यवस्थापन नहुँदा साझाका बिजुली बस चल्न सकेनन् । त्यस्तै अहिले सुन्दर यातायातले ल्याएका बिजुली बसले दीर्घकालीन सेवा दिन सक्लान् कि नसक्लान् त्यो भविष्यले पक्कै देखाउने छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');