काठमाडौ । संघीय सरकारले पुँजीगत खर्च गर्न नसकिरहेका बेला स्थानीय तह भने खर्चमा अब्बल देखिएका छन् । स्थानीय तहले जति आम्दानी गरेका छन् उति नै विकास तथा निर्माणका काममा खर्च गरेको देखिएको छ ।
केन्द्र सरकारले हरेक वर्ष चैत लागेपछि मात्रै खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला स्थानीय तहले भने उत्साहजनक रुपमा खर्च गरेको देखिएको हो । आर्थिक वर्षको सूरुवातदेखी नै स्थानीय तहले खर्च गर्ने भएकाले केन्द्रका तुलनामा बलिया देखिएका हुन् ।
वाग्मती गाउँपालिका ललितपुरले उत्साहजनक खर्च गरेको छ । सो गाउँपालिकाले गत आर्थिक वर्षमा आम्दानी ३६ करोड २८ लाख ९८ हजार रुपैयाँ आन्दानी गरेको छ सोही बराबर बजेट खर्च गरेको छ ।
यस गाउँ पालिकाले गत वर्ष सबैभन्दा बढी बाटो घाटो निर्माणका खर्च गरेको छ । बाटोघाटोमा ५ देखि ६ करोड रुपैयाँ खर्च भएको वाग्मती गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले अहिले चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको योजना बनाइरहेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा आन्तरिक गिट्टी ढुंगाबाट २ करोड ९६ लाख आन्दानी गर्ने लक्ष्य राखेको छ भने कुल आन्तरिक आन्दानी ५ करोड रुपैयाँ हाराहरीमा रहने उपमेयर रञ्जना तिमल्सिनाले बताइन् ।
केन्द्र सरकारले खर्च गर्न नसकी विकास योजनाका कामहरु अलपत्र परिरहेका बेला स्थानीय तहहरुलाई खर्च गर्नुपर्ने दबावमा छन् । केन्द्र सरकारको तुलनामा स्थानीय तहहरु खर्चमा निकै संयम तथा जिम्मेवार देखिन्छन् ।
उपमेयर तिमल्सिनाले भनिन्,‘ हामीले प्राथमिकताका क्षेत्र हेरर खर्च गरिरहेका छौँ ।’ उनले गत वर्ष गाउँपालिकाले पुनः निर्माणलाई प्राथमिकतामा राखेको बताइन । यस आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
हरेक वर्ष मुलुकको व्यापार घाटा बढिरहेको छ । जसमा अर्वाै रुपैयाँ बराबरको कृषिजन्य उत्पादन पनि आयात हुन्छ । नेपालले कृषि जन्य उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य राखेकाले गाउँ गाउँबाट त्यस्तो अभियान तथा लक्ष्यलाई साथ दिनुपर्ने उनको भनाई छ ।
ललितपुर,काठमाडौँ तथा त्यस वरपरिका केही क्षेत्रमा भएपनि दुधको माग पूरा गर्न पनि पशु पालनलाई प्राथमिकतामा राखेको छ । वाग्मति गाउँपालिका क्षेत्रमा पशु पालनलाई बढी प्राथमिकता दिइन्छ । त्यस क्षेत्रका बासिन्दाहरु पनि पशु पालनमा नै रमाउने तथा त्यसै कामलाई महत्व दिने भएकाले गाउँपालिकाले सो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।
त्यसैले गाउँपालिकाले पशु (भैँसी) पालनका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको छ । पशुपालनसंबन्धी कार्यविधी पनि बनाइसकेको छ । उनले भनिन्,‘हामीले कृषितर्फ गाईबस्तु पालनलाई प्राथमिकतामा राखेका छौँ ।’ पशुपालनले त्यहाँका स्थानीयको जीविको पार्जन पनि राम्रै भइरहेकाले सो क्षेत्रमा लगानी गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी,खर्चमा अब्बल देखिएको ललितपुर जिल्लाको अर्काे गाउँपालिका हो महाँकाल । यस गाउँपालिकाले कृषि, शिक्षा,स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । महांकाल गाउँपालिका उपमेयर कमला तामाङले वर्षको सूरुदेखि नै प्राथमिकताका क्षेत्रमा खर्च गरेको बताइन् ।
यस गाउँ पालिकाले गत आर्थिक वर्षमा कुल ११ करोड ५० लाख ८५ हजार रुपैँया आम्दानी गरेको छ । ९९ करोड २९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । जसमा पूँजीगत खर्चतर्फ ६ करोड खर्च गरेको छ भने चालु खर्चतर्फ ३ करोड २८ लाख ६६ हजार रुपैयाँ भएको छ । यो आम्दानी तथा खर्च सशर्त अनुदान बाहेकको भएको महांकाल गाउँपालिकाले जनाएको छ ।
स्थानीय तह खर्चमा अब्बल भएपनि सरकारले भने खर्चको गति समाउन कहिल्यै सकेको देखिँदैन । चालु आर्थिक वर्षको कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैँयामा भदौ २२ गते आइतबारसम्म ३ अर्ब १० करोड ३७ लाख रुपैँया मात्रै खर्च गरको छ ।
यो खर्च कुल खर्चको ०.७५ प्रतिशत मात्रै हो । त्यसैगरी,चालु खर्चतर्फ २.४१ प्रतिशत खर्च भएको छ । भदौ २३ सम्म चालु खर्च २३ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ । सरकारले यस आर्थिक वर्षमा ११ खर्व १२ अर्ब ३ करोड ३२ लाख रुपैँया राजश्व उठाउने लक्ष्य राखेको छ ।