काठमाडौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले पाउने नाफाको ०.५० प्रतिशत वेतन कर्णाली जलविद्युत् आयोजनामा लगानी हुने भएको छ ।
गतवर्षको नाफाबाट पाउने १ प्रतिशत नगद लाभांशमध्ये सञ्चयकर्ताले ०.५० प्रतिशत रकम सञ्चय कोषले प्रवर्द्धन गरेको ४४२ मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजनामा लगानी हुनेछ ।
गतवर्ष कोषको नाफा घटेर ३ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँ खुदनाफा भएको थियो । वेतन कर्णालीमा गतवर्ष ०.७५ प्रतिशत लगानी भएकोमा यो वर्ष नाफा घटेपछि ०.५० प्रतिशत मात्र लगानी हुनेछ ।
कोषले आयोजना अघि बढाउन वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड गठन गरिसकेको छ । अघिल्लो वर्षसम्म सञ्चयकर्ताले पाउने नाफाबाट ४ अर्ब ४० करोड रुपैयाँ जम्मा भइसकेको छ । यो वर्ष पनि रकम थप हुने छ । कति थप हुने निश्चित भइसकेको छैन ।
३ वर्षभित्र सञ्चयकर्ताको तर्फबाट हुने लगानी जुट्ने छ । स्वपुँजी (ईक्विटी) का लागि ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भएको कोषका प्रशासक तुलसी गौतमले बताए । उनका अनुसार कोषबाट जम्मा हुने इक्विटीको भाग पूरा हुने छ ।
गतवर्ष सञ्चय कोषका सञ्चयकर्ताको १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लाभांश बेतन कर्णाली आयोजनामा जम्मा भइसकेको छ ।
जुटेको रकममध्ये गत वर्षसम्म २८ करोड रुपैयाँ आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन (डीपीआर) लगायत काममा खर्च भएको छ । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ ।
५० अर्ब रुपैयाँ बैङ्कबाट ऋण लिने योजना तय भएको छ । आयोजनामा नबिल र नेपाल एसबीआई बैङ्कले ऋण लगानी गर्ने समझदारी गरेका छन्।
वेतन कर्णालीको डीपीआरको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम गरिरहेका छन् ।
याे पनि पढ्नुहाेस्ः
डीपीआर बनेपछि बैङ्कसँग ऋण सम्झौता हुनेछ । वेतन कर्णालीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानीसम्बन्धित विनियमावली बनाइसकेको छ । आव २०७३/०७४ देखिको नाफा आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरिएको हो ।
वेतन कर्णाली बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाबाट वार्षिक २ अर्ब ३१ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । काम सुरु भएको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ ।
आयोजना सुर्खेतको चौकुना र अछाममा ढकारी गाउँपालिकामा पर्छ । आयोजनाको बाँध ८९ मिटर अग्लो हुने छ । सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १४ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ ।