काठमाडौं । तीन बर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आएपछि देशभर लोडसेडिङ हट्नुका साथै ३७५ मेगावाट थप विद्युत् उत्पादन भएको छ ।
८ घण्टाको लोडसेडिङ अन्त्य गर्नुका साथै ९ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई घिसिङले ३ बर्षमा ७ अर्ब २० करोड नाफामा पु¥याउन सफल भए । चालु आर्थिक वर्षमा चुहावट घटाएर नाफा साढे ८ अर्ब रुपैयाँ गर्ने प्रक्षेपण उनले गरेका छन । ३ वर्षमा विद्युत प्राधिकरणबाट १०४ र निजी क्षेत्रबाट २७१ मेगावाट बिजुली उत्पादन भएको छ ।
लोडसेडिङको इतिहास अन्त्य गरी गुणस्तरीय विद्युत् आपूर्ति र वितरणमा प्राधिकरणले गति लिन थालेपछि १५० युनिट प्रतिव्यक्ति विद्युत् खपत बढेर २४५ युनिट पुगेको छ । विभिन्न रुग्ण बनेका जलविद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, पछिल्लो तीनबर्षमा विद्युत प्रसारण लाइनको सञ्जाल पनि विस्तार गरिएको र धेरै प्रसारण लाइन तथा सवस्टेशन निर्माण, थप र स्तरोन्ती तथा मर्मत सम्भार गरेको प्राधिकरणले जनाएको छ ।
तीन बर्षअघि २ हजार ९११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ३ हजार ९९० सर्किट किलोमिटर पुगेको छ । गतबर्ष मात्रै ७५७ सर्किट किलोमिटर लाइन निर्माण भइ ६०६ सर्किट किलोमिटर लाइन चार्ज भएको छ ।
लामो समयदेखि निर्माण हुन नसकेका रुग्ण काबेली करिडोर सहित तीनओटा प्रसारण लाइन, वितरणतर्फ ३४ गरी ३७ ओटा रुग्ण आयोजना गत बर्ष सम्पन्न भएको प्राधिकरणको दाबी छ । तीनबर्षमा नया ँनिर्माण तथा स्तरोन्नती गरी कुल १७१२ एमभीए क्षमताका प्रसारण लाइन थप गरिएको प्राधिकरणले जनाएको हो ।
विगत तीनबर्षमा प्राधिकरणअन्र्तगतका सहायक कम्पनीमार्फत १०४ मेगावाट र नीजि क्षेत्रको लगानीमार्फत २७१ मेगावाट विद्युत् आयोजना सम्पन्न भइ विद्युत् उत्पादन भएको हो ।
त्यस्तै, अलपत्र अवस्थामा रहेका तथा रुग्ण आयोजनाको रुपमा ३० मेगावाटको चमेलिया, ६० मेगावाटको त्रिशुली ३ ए जलविद्युत् आयोजना पनि कुलमान आएपछि निर्माण सम्पन्न भइ विद्युत् उत्पादन भए । त्यस्तै, १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना पनि निकट भविष्यमा विद्युत् उत्पादन दिने अवस्थामा छ ।
प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोशी, ४२.५ मेगावाट सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन पनि निर्माणको अन्तिम चरणमा छन् ।
प्राधिकरणले यसबर्ष १ हजार २५० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ । यसबर्ष अधिक विद्युत् उत्पादनको आधारबर्षका रुपमा मनाउने सोच प्राधिकरणको छ ।
सरकारले आगामी २०७९ भित्र सम्पूर्ण नेपालीमा विद्युत् सेवा पुयाउने र आगामी १० बर्षभित्र आन्तरिक खपत सहित स्वदेशमै १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वांक्षी योजना लिएको छ ।
अहिले बर्षेनी अपुग विद्युत् आयात भइरहेको छ । गतबर्ष भारतबाट २३ अर्ब रुपैयाँको विद्युत् आयात भएको थियो भने नेपालले झन्डै ३२ करोडको विद्युत् निर्यात गरेको थियो । अहिले वीरगञ्ज रक्सौल नाकाबाट ४० मेगावाटसम्म बिजुली बिहारमा निकासी भइरहेको छ ।