पोखरा । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैँ तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
सरकारका तर्फबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिए ।
बजार अनुगमनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । उनले मन्त्रिपरिषद् बैठकबाट बजार अनुगमन नियमावली– २०७६’ स्वीकृत गरिएको बताए ।
डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बैठककाे निष्कर्ष रहेकाे छ । बैठकले डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकारका तर्फबाट २१ लाख रूपैयाँ सामाजिक विकास मन्त्रालयलाई दिने निर्णय गरेकाे छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले प्रदेशका सबै मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । कार्यविधिअनुसार अधिकांश योजनाका बोलपत्र कात्तिक मसान्तमा निकालिसक्नुपर्ने, विकास बजेट पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रोमा ३५, तेस्रोमा ४५ देखि ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था छ ।
बैठकले सेवा करारमा प्राविधिक जनशक्ति छनोटसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । प्रदेशमा आवश्यकताको ८० प्राविधिक अपुग रहेको छ ।