काठमाडौं । नेपाल राष्ट्र बैङ्कमा मर्जरको प्रगति विवरण बुझाउने बैङ्कहरुको सङ्ख्या १८ पुगेको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई मर्जरको प्रगति विवरण गत भदौ २५ गतेसम्म बुझाउन समय दिएको थियो । तर, निर्धारित समयसम्म सबै वाणिज्य बैङ्कहरुले मर्जरको प्रगति विवरण बुझाएका छैनन् ।
नेपाल बैङ्क, नबिल बैङ्क, हिमालयन बैङ्क, माछापुच्छ्रे बैङ्क, कुमारी, लक्ष्मी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम, सनराइज, एनएमबीलगायतका १८ ओटा बैङ्कले मर्जरको प्रगति विवरण बुझाएको राष्ट्र बैङ्कका सहायक प्रवक्ता गोविन्द नागिलाले बताए ।
प्रतिगत विवरण नबुझाउने बैङ्कलाई पनि तुरुन्तै विवरण बुझाउन निर्देशन दिइएको सहायक प्रवक्ता नागिलाले बताए । बैङ्कहरुले मर्जरको प्रगति बुझाए पनि वास्तवमा प्रगति भने भएको देखिँदैन । राष्ट्र बैङ्कमा जति पनि बैङ्कले मर्जरको प्रगति विवरण बुझाएका छन्, ती विवरणमा कुनै पनि बैङ्कले आफ्नो जोडी खोजेर मर्जरका लागि छलफल गरेको भन्ने उल्लेख छैन ।
मौद्रिक नीतिअघि मर्जरको प्रतिबद्धता बुझाउँदा मर्जरमा जान तयार रहेको भन्ने मात्रै प्रतिबद्धता बुझाएका थिए । प्रतिबद्धता बुझाउँदा मर्जरमा जाने जोडी भने खोजिसकेका थिएनन् । त्यसैगरी, प्रगति विवरणमा पनि मर्जरको कुनै प्रगति भएको देखिँदैन ।
राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिमार्फत बिग मर्जरको नीति ल्याउन चाहेका थिए । मौद्रिक नीति आउनुअघि वाणिज्य बैङ्कका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै मौद्रिक नीतिअघि नै बिग मर्जरका लागि जोडी खोज्न भनेका थिए । मौद्रिक नीतिअघि २२ ओटा बैङ्कले मात्रै मर्जर प्रतिबद्धता बुझाएका थिए ।
मौद्रिक नीतिमा बिग मर्जर नआएपछि राष्ट्र बैङ्कले मर्जरको प्रगति कति भयो भनेर बैङ्कलाई पुनःविवरण बुझाउन भनेको थियो ।