काठमाडौं । प्रस्तावित माथिल्लो अरुण र तामाकोसी पाँचौ जलविद्युत् आयोजनाको ४९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गरिने भएको छ ।
जनताको जलविद्युत् कार्यक्रममा परेका यी दुई आयोजना बनाउन साधारण सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बताए । उनले ४९ प्रतिशत सेयर सर्वसाधारणलाई सुनिश्चित गरिने स्पष्ट पारे ।
दुवै आयोजना स्वदेशी तथा विदेशी विकास साझेदारको सहुलियत ऋणमा निर्माण गरिने उनले सुनाए । वित्तीय व्यवस्थापनका लागि प्राधिकरणले काम अघि बढाउने भएको छ ।
माथिल्लो अरुणको क्षमता १ हजार १६० मेगावाट छ । यस्तै तामाकोसी पाँचौको ९९.६ मेगावाट रहेको छ । यी दुवै आयोजना कम्पनी खाकामा बन्न लागेका हुन् ।
माथिल्लो अरुणका लागि अपरअरुण हाइड्रोपावर लिमिटेड र तामाकोसी पाँचौका लागि तामाकोसी हाइड्रोपावर लिमिटेड गठन भइसकेको छ ।
माथिल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको छ । तामाकोसी पाँचौ निर्माणको चरणमा जान लागेको छ ।
यस्तै ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना पनि निर्माण हुन लागेको छ । यसको लगानीको विषयमा निर्णय भएको छैन ।
सरकारले १० वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादनको महत्वांकाक्षी लक्ष्य लिएको छ । १५ हजार मेगावाट विद्युत् उत्पादन गर्न १० वर्षमा कम्तीमा ३० खर्ब रूपैयाँ पूँजी चाहिन्छ ।
त्यसमध्ये प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि ६ खर्ब र जलविद्युत् आयोजनामा २३ अर्ब रुपैयाँ लगानी जुटाउनुपर्छ । मुलुकको आन्तरिक स्रोतले मात्रै पूँजी जुट्न नसक्ने भएकाले करिब ६ खर्ब रुपैयाँ पूँजी जनताको लगानीबाट जुटाउनुपर्ने बाध्यता छ । बाँकी पूँजी सरकार, निजी क्षेत्र र वैदेशिक ऋण सहयोगबाट जुटाउने छ ।
गत आवमा सरकारले आकर्षक आयोजनाका रुपमा २१ ओटा जलविद्युतमा प्रत्यक्ष जनताको सेयर लगानी रहने गरी व्यवस्था गरेको छ । सरकारले ‘नेपालकाे पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत जलविद्युत् आयोजनामा सेयरमार्फत लगानी गर्न आग्रह गरेको छ ।
सरकारले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी, र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर जनतालाई निष्कासन गरिसकेको छ ।