काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का पूर्व अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत अध्यक्ष बनाउने गरी विधान संशोधनको सुझाब पठाएका छन् ।
एफएनसीसीआईका पूर्व अध्यक्ष पद्यम ज्योति, रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशीलगायतले विधान संशोधन गरे पनि अर्को कार्यकालबाट मात्रै लागू हुने गरी विधान संशोधन समितिलाई मङ्गलबार सुझाव पठाएका हुन।
महासङ्घका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले बोलाएको बैठकमा पद्यम ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, महेशलाल प्रधान उपस्थित थिए ।
विधान संशोधन एफएनसीसीआईको साधारण सभाले गर्ने हुँदा संशोधित विधान सोही साधारण सभाबाट विशेष गरी पदाधिकारीको निर्वाचन सम्बन्धी व्यवस्था चालू साधारण सभाबाट कार्यान्वयन गर्न उचित र उपयुक्त नहुने भएकाले सो व्यवस्था विधान संशोधन भएपश्चात अर्को कार्यकालबाट मात्रै लागू गर्न उपयुक्त हुने हँदा सोही अनुसार विधानमा व्यवस्था गर्न सुझाएका छन् ।
विधान संशोधन समितिले अध्यक्षको प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा हुनेगरी विधान संशोधनमा लागेको थियो । उक्त व्यवस्था आउने कार्यकालबाटै लागू गर्नेगरी महासङ्घका पूर्व अध्यक्ष तथा विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालको चाहान थियो । तर, उनको चाहानामा पूर्व अध्यक्षले रोक लगाएका छन् ।
एफएनसीसीआईलाई पूर्व अध्यक्षले दिएको सुझावमा अध्यक्षको निर्वाचन प्रत्यक्ष प्रणाली अनुसार नै गर्न उपयुक्त रहेको उल्लेख छ । तर, उक्त संशोधित विधान अर्को कार्यकालबाट मात्रै लागू गर्न विधान संशोधन समितिलाई लिखित सुझाव पठाएका छन् ।
आज सम्पूर्ण पूर्व अध्यक्षको बैठकले सुझाव पठाएका छौं,’ पूर्व अध्यक्ष ज्योतिले भने, ‘विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गरे पनि उक्त विधान अर्को कार्यकालबाट लागू गर्न सुझाव पठाएका छौं ।’
उनका अनुसार अब आउने कार्यसमितिका लागि उक्त संशोधित विधान लागू नहुने गरी विधान संशोधन गर्न भनेको छौं ।
पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले संशोधित विधान हालका बरिष्ठ उपाध्यक्ष गोल्छाको हकमा लागू नहुने गरी सुझाव पठाएका बताए । पूर्व अध्यक्षबीच निरन्तरको छलफल पछि विधानमा आवश्यक सुझाव पठाएको उनको भनाइ छ ।
पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले बैठक डाकेका थिए । उनकै पहलमा डाकिएको बैठकमा गोल्छालाई बरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बन्न रोक्न नहुने पूर्व अध्यक्षहरुले निश्कर्ष निकालेको र सोही अनुसार सुझाव पठाइएको बताए । यसैगरी पूर्व अध्यक्षहरुले महासङ्घका विशिष्ट सदस्यको व्यवस्था आवश्यक नरहेकाले सो व्यवस्था हटाउन समेत सुझाव दिएको छ । ‘यो व्यवस्था आवश्यक छैन्,’ पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले भने, ‘त्यही भएर खारेज गर्न सुझाएका हौ ।’
यदि महासङ्घबाट खारेज भएमा हालका विशिष्ट सदस्य चण्डीराज ढकालको पद सकिने छ । विशिष्ट सदस्यको हैसियतमा अहिले उनी विभिन्न जिल्लामा आफ्नो प्रभाव जमाइरहेका छन् ।
महासङ्घको नीति निर्माण र भावी कार्य योजना एवम् विकसित हुने घटना सम्बन्धमा महासङ्घको धारणा समेत उपलब्ध गराउन पूर्व अध्यक्षहरुको अनुभव महत्वपूर्ण हुने हुँदा हाल विधानमा कायम रहेको सल्लाहकार समितिलाई सल्लाह परिषद् गठन गरी पूर्व अध्यक्षहरुको महासंघको नीति निर्माणमा सक्रिय बनाउन वर्तमान अध्यक्ष समेत रहने गरी परिषद् गठन गर्न उपयुत्त हुने सुझाव दिएका छन् ।