काठमाडौं । चर्को ब्याजदरले जलविद्युत आयोजनाहरु धमाधम समस्याग्रस्त भएर बैङ्कहरुले लिलामी गर्ने अवस्थामा पुगेपछि लगानीकर्ता एकजुट भएका छन ।
उनीहरुले समस्या समधान गर्न सरकारको ध्यानकर्षण गराएका छन । समस्या समधान नभए आयोजना सरकारलाई बुझाउने चेतावनी समेत दिएका छन ।
स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (ईपान) ले बुधबार राजधानीमा आयोजना गरेको छलफलमा भेला भएका लगानीकर्ताले आयोजनालाई रुग्णबाट मुत्त बनाउन ५ प्रतिशत ब्याजदरमा कर्जाको पुर्नतालिकीकरण हुनुपर्ने माग गरेका छन ।
५६० मेगावाट क्षमताका ८३ आयोजना मध्ये ६६ मेगावाट क्षमताका २० ओटा जलविद्युत आयोजनाले कर्जा तिर्न नसकेर बैङ्कले लिलामी गर्न लागेको संयोजक सुर्यप्रसाद अधिकारीले बताए ।
‘जलविद्युत आयोजनाको वर्तमान अवस्था र लगानीको वातावरण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले ६६ आयोजनालाई उद्धार नगरिए बैङ्कको ३६ अर्ब र प्रवद्र्धकको १६ अर्ब गरी ५२ अर्ब रुपैयाँ लगानी डुब्ने चेतावनी दिएका छन ।
उनले ८० मेगावाटका १८ आयोजना नाजुक अवस्थामा, १३४ मेगावाटको २८ आयोजना कमजोर रहेको जानकारी दिए । यस्तै ७७ मेगावाटका ११ आयोजना मात्र नाफामा सञ्चालन भइरहेको उनले सुनाए । वैदेशिक लगानीमा बनेका २०१ मेगावाटका ६ आयोजना पनि नाफामा चलिरहेका छन् ।
बैङ्कको चर्को ब्याजदरले लगानीकर्ता समस्यामा परेको उनले बताए । यस्तै कमजोर प्रसारणलाइनका कारण २१ प्रतिशतसम्म बिजुली चुहावट हुँदा आम्दानीमा १५ प्रतिशतसम्म कमी आएको छ ।
सुख्खाका कारण नदीमा पानीको वहाव घट्दा आयोजनाको आम्दानी २८ प्रतिशतसम्म घटेका कारण आयोजनाले बैङ्कबाट लिएको ऋण तिर्न नसकेको उनले सुनाए । सम्झौताअनुसार बिजुली उत्पादन नभएपछि नेपाल विद्युत प्राधिकरणलाई १४ प्रतिशतसम्म हर्जना तिर्नुपरेको गुनासो लगानीकर्ताको छ ।
वित्तीय अवस्था खराब भएपछि सर्वसाधारणको लगानी भई नेपाल स्टकएक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत ३१ जलविद्युत कम्पनीमध्ये अधिकाँशको सेयर मूल्य धेरै कम रहेको देखिएको छ ।
१८ ओटा आयोजनाको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा कम छ । यस्तै २०० रुपैयाँ भन्दा कम मूल्यका १० र २०० रुपैयाँ भन्दा बढी मूल्य हुनेमा ३ ओटा आयोजना रहेका छन् ।
निजी क्षेत्रबाट १३ हजार १४९ मेगावाट क्षमताका ६७० ओटा ७ खर्ब ७ अर्ब रुपैयाँ लगानी भएको प्रवद्र्धकको भनाई छ । यी आयोजना सम्पन्न गर्न ५ वर्षमा थप १२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अधिकारीले जानकारी दिए ।