काठमाडौं । नेपाल बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जलविद्युत आयोजनामा देखिएको संकट पुनरकर्जा (रिफाइनान्सिङ) ले मात्र समाधान गर्ने बताएका छन । उनले रिफाइनान्सिङका लागि पहल गर्न जलविद्युत लगानीकर्तालाई सुझाएका छन ।
लगानीकर्ताको गुनासो सुनेपछि नेपाल बंगलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका ढुङ्गानाले आयोजनाहरुलाई संकटबाट मुक्त गराउन एउटा मात्र उपाय रिफाइनान्सिङ भएको बताए । ‘अहिलेको रिफाइनान्सिङ नीतिले जलविद्युत आयोजनाको समस्या समधान हुँदैन । दीर्धकालिन विकल्पका लागि पहल गर्नुहोस’ उनले भने ।
लगानीकर्ताका गुनासा सुनेपछि उनले भने ‘बैङ्कहरुले ऊर्जामा लगानी गर्न खुट्टा कमाउनु पर्ने अवस्था अवस्था आयो ।’ जलविद्युतको ब्याजदर बढाउने पक्षमा नभएको स्पष्ट पार्दै निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि ब्याजदरमा वृद्धि भएको ढुङ्गानाले जानकारी गराए ।
स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (ईपान) ले बुधबार राजधानीमा आयोजना गरेको छलफलमा पूव अर्थमन्त्री डा. रामशरण महतले विद्युत आयोजनालाई ब्याजमा अनुदान दिनुपर्ने सुझाए । उनले समग्र रुपमा ऊर्जा क्षेत्रको सुधारका लागि विद्युत प्राधिकरणको खण्डीकरण गरेर व्यवसाय विनेश गर्नुपर्ने आवश्यकता औल्याए ।
वन, वातावरण र प्रसारणलाइन जस्ता काम एकद्धारबाट हुनु पर्ने उनको भनाई छ । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले जलविद्युतमा लगानीको वातावरण खस्किएको दावी गरे । उनले यस्तो अवस्थामा थप लगानी गर्न नसक्ने अवस्थामा पुगेको जानकारी दिए ।
लगानीकर्ताले आयोजनालाई रुग्णबाट मुक्त बनाउन ५ प्रतिशत ब्याजदरमा कर्जाको पुर्नतालिकीकरण हुनुपर्ने माग गरेका छन ।
५६० मेगावाट क्षमताका ८३ आयोजना मध्ये ६६ मेगावाटका २० ओटा जलविद्युत आयोजनाले कर्जा तिर्न नसकेर बैङ्कले लिलामी गर्न लागेको जलविद्युत इन्जिनियर सुर्यप्रसाद अधिकारीले बताए ।
‘जलविद्युत आयोजनाको वर्तमान अवस्था र लगानीको वातावरण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले ६६ आयोजनालाई उद्धार नगरिए बैङ्कको ३६ अर्ब र प्रवद्र्धकको १६ अर्ब गरी ५२ अर्ब रुपैयाँ लगानी डुब्ने चेतावनी दिएका छन ।
उनले ८० मेगावाटका १८ आयोजना नाजुक अवस्थामा, १३४ मेगावाटको २८ आयोजना कमजोर रहेको जानकारी दिए । यस्तै ७७ मेगावाटका ११ आयोजना मात्र नाफामा सञ्चालन भइरहेको उनले सुनाए । वैदेशिक लगानीमा बनेका २०१ मेगावाटका ६ आयोजना पनि नाफामा चलिरहेका छन् ।
बैङ्कको चर्को ब्याजदरले लगानीकर्ता समस्यामा परेको उनले बताए । यस्तै कमजोर प्रसारणलाइनका कारण २१ प्रतिशतसम्म बिजुली चुहावट हुँदा आम्दानीमा १५ प्रतिशतसम्म कमी आएको छ ।
सुख्खाका कारण नदीमा पानीको वहाव घट्दा आयोजनाको आम्दानी २८ प्रतिशतसम्म घटेका कारण आयोजनाले बैङ्कबाट लिएको ऋण तिर्न नसकेको लगानीकर्ताहरुको भनाई छ । सम्झौताअनुसार बिजुली उत्पादन नभएपछि नेपाल विद्युत प्राधिकरणलाई १४ प्रतिशतसम्म हर्जना तिर्नुपरेको गुनासो लगानीकर्ताको छ ।