काठमाडाैं । सरकारले चाडपर्वका समयममा लामो तथा छोटो दूरीमा यात्रा गर्ने सर्वसाधारण कुनै पनि प्रकारको ठगीमा नपरुन् भनेर अनुगमन सुरु गरेको छ ।
यातायात व्यवस्था विभागले यात्रुको अत्याधिक चाप हुने नयाँ बसपार्क, पूरानो बसपार्क, कलङ्की, चाबहिल, कोटेश्वर, बल्खु, माछापोखरीलगायत लामो तथा छोटो दूरीका सवारी छुट्ने स्थानमा नियमित अनुगमन सुरु गरेको हो ।
अनुगमनका लागि विभागले ६ वटा घुम्ती टोली नै गठन गरेको छ । अनुगमन टोलीमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी सङ्घका प्रतिनिधि रहेका छन् ।
चाडपर्वको समयमा उपत्यकाबाट बाहिरने यात्रुको चाप अत्यधिक हुने र त्यही बेलामा नाजायज फाइदा उठाउँदै यातायात व्यवसायीले बढी भाडा लिने गरेकाले यात्रु ठगीमा नपरुन भनेर अनुगमन सुरु गरिएको विभागका महानिर्देशन गोगनबहादुर हमालले बताए । ‘दसैँको फूलपातीको दिनसम्म उपत्यकाबाट बाहिरने यात्रुको चाप धेरै हुन्छ, त्यहीबेला ठगी पनि बढ्ने गरेको छ’, उनले भने, ‘टिकट काउन्टरलगायत यात्रु चढ्ने ठाउँसम्म अनुगमन गरिनेछ ।’
यात्रुले टिकट नपाएकोे, भाडा बढी लिएको, सिट नपाएको, यात्रुहरु ठगिएको तथा अभद्र व्यवहार गरेको÷नगरको बारेमा अनुगमन गरिनेछ । यात्रु ठग्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने महानिर्देशक हमालले बताए ।
उनले भने ‘अनुगमनलाई उपत्यकामा मात्र सीमित बनाउँदैनौँ, प्रदेश सरकार, स्थानीय सरकार र यातायात कार्यलयको सहयोगमा मुलुकभर अनुगमन गर्छौँ ।’
यात्रु सुविधाको लागि सबै यातायात व्यवसायीलाई र सुरक्षित यात्राको सुनिश्चित गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ७५३ ओटै स्थानीय सरकारलाई पत्रचार गरिएको महानिर्देशक हमालले जानकारी दिए ।