काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनालाई लगानी जुटाउन समय लाग्ने भएको छ ।
लगानी बोर्डले गत भदौ २४ गते अर्थात सेप्टेम्बर १३ सम्म वित्तीय व्यवस्थापन गर्ने समय दिएको थियो । बोर्डले ढिलाइ गर्दा निर्धारित समयमा बैङ्कसँग ऋण सम्झौता हुन नसकेको आयोजनाले दाबी गरेको छ ।
प्रक्रियागत कारणले लगानी जुटाउन ३ महिनासम्म ढिलाइ हुने सम्भावना रहेको प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी स्रोतले बतायो । ऋण लगानी सम्झौताका लागि लगानी बोर्डले स्वीकृति गर्नुपर्नेलगायतका काम बाँकी रहेको छ ।
भारतीय स्टेट बैङ्क (एसबीआई)लगायत नेपालको नविल र एभरेष्ट बैङ्कसँग ऋण लगानीका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । डकुमेन्ट आदनप्रदानको काम भइरहेकाले अब केही महिनाभित्र ऋण लगानी सम्झौता हुने स्रोतको भनाइ छ ।
एसजेबीएनले एसबीआईबाट ४१ अर्ब भारु अर्थात् ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिँदै छ । एसबीआईले नेपालका नविल र एभरेष्ट गरी आधा दर्जन बैङ्कसँगको सहवित्तीयकरणमा अरुण तेस्रोमा लगानी गर्ने छ । नबिल र एभरेष्टले गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्न गत मार्चमा एमओयू गरेका छन् ।
भारतको एसबीआई र नेपालका एभरेष्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात ५० अर्ब भारु ऋण लिनेछ । आयोजना बनाउन माउ कम्पनी सतलज जलविद्युत् निगम लिमिटेडले २५ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने छ ।
आयोजनाले इक्विटीबाट काम गरिरहेको छ । हालसम्म २५ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । यस्तै सिभिलको काम तीव्र गतिमा अघि बढ्नुका साथै इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल उपकरण उत्पादनको काम पनि सुरु हुन लागेको कम्पनी स्रोतले बतायो ।
एभरेष्टमा भारतको पञ्जाब नेसनल बैङ्कको मुख्य लगानी छ । एभरेष्टले प्रसारणलाइनमा लगानी सम्झौता गरिसकेको छ । आयोजनाको विद्युतगृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।
विद्युत् उत्पादन संरचना बनाउन एसबीआई र नेपालका नबिल र एभरेष्ट बैङ्कले ऋण लगानी गर्नेछन् । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैङ्कसँग ऋण सम्झौता भइसकेको छ ।
एभरेष्टले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनलसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । नेपाली बैङ्कले आयोजनामा १८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने छन् ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन खर्च हुनेछ । एसजेबीएनले स्वपूँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात् सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । ४ लटमा आयोजनाको काम हुनेछ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथीभरा तथा विद्युतगृह दिर्दिङमा पर्छ । भारत निकासी प्रयोजनका लागि अरुण तेस्रो आयोजना निर्माण सुरु भएको हो ।