काठमाडौं । प्रस्तावित ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माण भएमा ५९ मेगावाटका दुई जलविद्युत आयोजना डुब्ने भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको पछिल्लो संभाव्यता अध्ययन अनुसार निजी क्षेत्रले निर्माण गरी सञ्चालनमा आइसकेको २१.६ मेगावाटको तल्लो हेवा र निर्माणधिन ३७.६ मेगावाटका कावेली ए जलविद्युत आयोजना डुब्ने भएको हो ।
तल्लो हेवा माउन्टेन नेपाल हाइड्रो लिमिटेड र कावेली बुटबल पावर कम्पनी लिमिटेड अन्र्तगतको कावेली इनर्जी लिमिटेडले निर्माण सुरु गरेको हो । तल्लो हेवाको लागत ४ अर्ब र कावेलीको १० अर्ब रुपैयाँ छ । तमोरले यी दुई आयोजनालाई अर्बौ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।
तमोर जलासयको काम अझै प्रारम्भीक चरणमै रहेकाले काम अघि बढ्न अझै केही वर्ष लाग्ने देखिएको छ । आयोजना सम्पन्न भएर बिजुली उत्पादन गर्ने समयसम्म तल्लो हेवाले बैङ्कको ऋण चुक्ता गरी नाफा कमाइरहेको हुनेछ ।
तमोर जलासयमा सरकारी स्वमित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र चीनको पावर चाइना कर्पाेरेसनले संयुक्त रुपमा विकास गर्न लगानी बोर्डमा प्रस्ताव पेस गरेका छन् ।
गत साउन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले एचआईडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर होल्डिङ्स र जापानको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड संयुक्तलाई छनोट गरी उनीहरूबाट प्रस्ताव मागेको थियो ।
एचआईडीसीएल र पावर चाइनाले संयुक्तले प्रस्ताव गरेका छन । उनीहरुले संयुक्त रुपमा तमोर जलाशययुक्त आयोजना बनाउन लाइसेन्स पाउने सम्भावना छ । यद्यपि बोर्डबाट निर्णय भएको छैन । आयोजना सार्वजनिक र निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण हुनेछ ।
विद्युत प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनअनुसार आयोजना बनाउन करिब १ खर्ब ५० अर्ब रुपैयाँ (९१ अर्ब २८ करोड ६४ लाख ५० हजार अमेरिकी डलर) लाग्ने अनुमान छ ।
जसमध्ये सिभिल संरचना निर्माणका लागि ७१ करोड ६० लाख, इलेक्ट्रोमेकानिकल २६ करोड ६७ लाख, प्रसारणलाइन बनाउन ७ करोड ८० लाख र वातावरणीय अध्ययन लागत ८ करोड ५० लाख डलर लाग्ने अनुमान छ ।