फोरजीसँगै नेपाल टेलिकमको ‘भोल्टे’ लन्च, क्रिस्टल क्लियर भ्वाइस

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार,०३:५५:PM  
फोरजीसँगै नेपाल टेलिकमको ‘भोल्टे’ लन्च, क्रिस्टल क्लियर भ्वाइस

काठमाडौं । नेपाल टेलिकमले मुलुकका विभिन्न ५० सहरमा चौथो पुस्ता (फोरजी) सेवा विस्तार गर्दै छ । सातै प्रदेशलाई भ्याउने गरी ३२ जिल्लामा बुधबारबाट भीओएलटीई अर्थात् ‘भोल्टे’ अर्थात् भ्वाइस ओभर द एलटीईको सफ्ट लन्च गर्दैछ । टेलिकमले नेपालमै पहिलो पटक भीओएलटीई सेवा सुरु गर्दैछ । 

कतिपय प्रयोगकर्ताहरुको फोन सेटले भोल्टेलाई सपोर्ट नगर्ने हुँदा हालका लागि ३२ जिल्लामा यसको सफ्ट लन्च गर्न लागिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । भोल्टे फोरजीको एउटा विशेष फिचर भएको प्रवक्ता वैद्यले बताएकी छिन् । 

भोल्टे के हो ?

भीओएलटीई अर्थात् भ्वाइस ओभर एलटीई । यसको अर्थ एलटीई नेटवर्कले फोरजी नेटवर्कको माध्यमबाट भ्वाइस कल ट्रान्सफर र रिसिभ गर्छ । आजभन्दा अघि थ्रीजी सर्भिसमा कम्पनीले सेट गरेका बिट रेटबाट थोरै ब्यान्डविथमार्फत कल जाने गर्दथ्यो । यसकारण कल कनेक्सन गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ कल ड्रप हुन्थ्यो, कल लाग्न समय लाग्थ्यो र त्यसको गुणस्तर पनि कम हुन्थ्यो । 

तर, भीओएलटीईमा कल एचडी क्वालिटीमा आउँछ । जब हामी कसैलाई कल गर्छौ, तब एलटीई फोरजी नेटवर्कको माध्यमबाट जान्छ । कनेक्सन टाइम अल्ट्रा फास्ट हुन्छ । जबकि थ्रीजी वा टुजी प्रयोग गर्दा कनेक्सन टाइम पाँच देखि १० सेकेण्डसम्म लाग्न सक्थ्यो । यसका अतिरिक्त यो नेटवर्कलाई भीओएलटीई कल भएको थाहा हुने हुँदा यसले कललाई प्राथमिकता दिन्छ, जसले कलमा आवाज ढिलो आउने वा अवरोध आउने समस्या हुँदैन । 

भीओएलटीईमा प्रयोगकर्ताले क्रिस्टल क्लियर भ्वाइस पाउन सक्छन् । यसको अर्को फाइदा भनेको जब तपाईं कुनै कल गर्दै हुनुहुन्छ र मोबाइल डेटा डिसकनेक्ट हुन्छ र तपाईंले कल डिसकनेक्ट गर्नुहुन्छ भने तपाईंको डेटा फेरि आयो भने, यसमा मोबाइल डेटा रिज्यूम गर्ने स्पिड एकदमै धेरै हुन्छ । 

भीओएलटीई प्रयोग गर्न यी प्रविधि छन् तपाईसँग ? 

भीओएलटीई प्रयोग गर्न सबैभन्दा पहिले त आफूले सेवा लिइरहेको दूरसञ्चार कम्पनीले भीओएलटीई आधारित सेवा दिइरहेको छ वा छैन त्यो निश्चित गर्नुपर्छ । अहिलेका लागि नेपाल टेलिकमले त्यो सुविधा ल्याएको छ । दोस्रो कुरा, आफूसँग एउटा यस्तो मोबाइल सेट हुनुपर्छ जसले भीओएलटीई सपोर्ट गरोस् । 

तेस्रो कुरा, तपाईं जोसँग कुरा गर्दै हुनुहुन्छ, उसले प्रयोग गर्ने फोन र नेटवर्कले पनि यो सेवालाई सपोर्ट गर्नु पर्छ । यी सम्पूर्ण गुण र सेवा मिल्न गएमा मात्र तपाईंले यो सेवा प्रयोग गर्न सक्नुहुन्छ । 

बुधबारदेखि फोरजी सेवा 

नेपाल टेलिकमले देशभरका ५० सहरी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याउँदै छ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याइसकेको छ । 

टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा दिएको थियो । टेलिकमकी प्रवक्ता वैद्यका अनुसार हालसम्मको तयारी अनुसार ५० सहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने काम भइरहेको छ । त्यसका लागि करिब १ सय १० भन्दा बढी स्थानमा बीटीएस टावर जडान गरिसकिएको छ । बुधबारसम्म त्यस्ता टावरको सङ्ख्या १५० पुग्ने छ ।

हरेक दिन एक दर्जन टावर थपिएको र दु्रतगतिमा काम भइरहेकाले तोकिएभन्दा बढी स्थानमा सेवा पु¥याउने योजनामा टेलिकम रहेको प्रवक्ता वैद्यको भनाइ छ । 

उनका अनुसार चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान तथा धनकुटामा फोरजी सेवा सञ्चालनमा आउनेछ । यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया तथा गौरमा पनि चौथो पुस्ताको फोरजी सेवा सुरु हुनेछ । 

यस्तै धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ ।

तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा पनि सेवा सञ्चालनमा आउनेछ । कर्णाली प्रदेशको सुर्खेतमा सोही दिनदेखि उक्त सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमका सहायक प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए ।

युजु खालिङ

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');