काठमाडौं । आठ महिनाभित्र कोसी करिडोर प्रसारण लाइन निर्माण हुने भएको छ । यसअघि धरानक्षेत्रमा देखिएको निर्माण अवरोध हटेपछि आयोजनाको काम अघि बढेको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाको ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । ‘अहिले धरानक्षेत्रमा संस्थागत अवरोध छैन । सोही कारण, आयोजनाको काम तीव्र भइरहेको छ’ उनले भने, ‘अहिलेसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । ८ महिनाभित्र सम्पन्न गर्छौ ।’
अहिले झन्डै १० किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ । ३ सय २० ओटा टावर निर्माण गर्नुपर्नेमा १ सय ६० ओटा टावर निर्माण भइसकेको ढकालले बताए । उनका अनुसार धनकुटा र सुनसरीबाट दुवैतर्फबाट तान्न सुरु गरिएको छ ।
सुनसरीको इनरुवादेखि सङ्खुवासभाको टुङ्लिङ्टारसम्म झन्डै ३ सय २० ओटा टावर निर्माण गर्नुपर्छ । कुल ८ अर्ब रुपैँयाको लागतमा निर्माणाधीन उक्त प्रसारण लाइन निर्माणपछि १ हजार मेगावाटभन्दा बढीका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइन निर्माणका लागि मात्रै ३ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ । फाउन्डेसन, जग्गा, बेस निर्माण, यन्त्र उपकरणसहित ८ अर्बभन्दा बढी लागत लाग्ने देखिएको ढकालले बताए । पछिल्लो समय अमेरिकी डलरको भाउ बढेसँगै आयोजनाको लागत बढ्ने ढकालको तर्क छ ।
प्रसारण लाइन निर्माण भएपछि त्यस क्षेत्रका साना—ठूला २० ओटा आयोजनाहरुको विद्युत् सोहि करिडोरमा जोडिने छ । खासगरी, मायाखोला, हेवाखोला, सभाखोला, तल्लो हेवा, अपर अरुण, पिलुवाखोला, चिर्खुवाखोला, इर्खुवाखोला लगायत अन्य जलविद्युत् आयोजना गरी ३ सय मेगावाटका आयोजना निर्माणको अन्तिम चरणमा छन् । ती आयोजनाबाट उत्पादन हुने विद्युत् अरुण करिडोरमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
राष्ट्रिय रुपमा ठूलो महत्व राख्ने करिडोर बनाउन अहिले विभिन्न ठाउँमा फाउन्डेसन र आधारभूत जग्गा व्यवस्थापन गर्ने काम भइरहेको छ । सन् २०२० अप्रिल आयोजना सम्पन्न गर्ने लक्ष्य भएपनि २ महिना ढिला गरी जुनसम्म सम्पन्न गर्ने ढकालले बताए ।