काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक दशैंमा सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष १३÷१४ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने गरेको छ । गत वर्षको दशैंमा १३ अर्ब रुपैँयाको हाराहारीमा नयाँ नोट सटही गरेको थियो ।
यसपालिको दशैंमा साढे ९ अर्ब रुपैँयाका मात्रै नयाँ नोट सटही गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । गत वर्षको तुलनामा यस वर्ष नयाँ नोट सटही साढे ३ अर्ब रुपैयाँले कमी आएको छ । राष्ट्र बैंकले गत वर्षको तुलनामा यस वर्ष नयाँ नोटको सीमा घटाएकोे तथा नयाँ नोटका साथै सुकिला नोट पनि बजारमा पठाएकाले नयाँ नोटको सटहीमा कमी आएको हो ।
राष्ट्र बैंकले गत वर्ष २७ हजार प्रतिव्यक्ति नयाँ नोट सटही सुविधा दिएको दियो भने यसपालिको दशैंमा १८ हजार ५०० मा झारेको थियो । नयाँ नोट साट्दा राष्ट्र बैंकले नयाँ नोटको जतन गरौं भन्दै नयाँ तथा सुकिला नोट मिसाएर सटही गरिदिएको थियो ।
नयाँ नोट छाप्दा अर्बाै रुपैयाँ बाहिरिने भएकाले राष्ट्र बैंकले पटक पटक नयाँ नोटको जतन गर्न आग्रह गर्दै आएको छ । दशैं, तिहार लगायतका चाडपर्वले नोटलाई फोहोर बनाउने भएकाले दक्षिणा दिँदा खाममा पैसा हालेर दिन आग्रह गरिएको प्रवक्ता निरौलाले बताए । यसपालि राष्ट्र बैंकले ठूला दरका ५०० र १००० दरका ५० अर्ब रुपैयाँ बैंकिङ कार्यालयबाट बजारमा पठाएको छ ।
राष्ट्र बैंकले नयाँ नोटको मोह घटाउन गत वर्षदेखि दशैंबाहेक तिहार, छट, माघे संक्रान्ति, उभौली पर्व, जनै पूर्णिमा, लोसार र नयाँ वर्ष लगायतका राष्ट्रिय पर्वहरुमा पनि नयाँ नोट सटही सुविधा दिएको छ । जतिबेला पनि नयाँ नोट पाएपछि सर्वसाधारणमा नयाँ नोटको मोह कम हुने भन्दै हरेक राष्ट्रिय चाडमा नयाँ नोट सटही सुविधा दिएको प्रवक्ता निरौलाको भनाइ छ ।
आगामी वर्षको दशैंमा डिजिटल प्रणालीबाट दक्षिणा
आगामी वर्षको दशैंदेखि डिजिटल प्रणालीबाट दक्षिणा दिने व्यवस्था गरिने भएको छ । कागजी नोटमा केरमेट तथा दशैंको टीकाले फोहोर भएपछि राष्ट्र बैंकले दशैं तथा अन्य चाडमा दिइने दक्षिणालाई डिजिटल प्रणालीबाट दिने तयारी गरेको हो ।
तीन वर्षपछि नयाँ नोट बन्द गरिने
राष्ट्र बैंकले आगामी तीन वर्षपछि नयाँ नोट सटही बन्द गर्ने भएको छ । नयाँ नोट छाप्दा खर्च बढी हुने तर त्यसको जतन कम हुने भएकाले नयाँ नोट संरक्षण गर्न नयाँ नोट सटही बन्द गरिन लागेको हो ।