काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग निरन्तर कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ (भारु) डलरसंग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । असारको तुलनामा साउनमा मात्रै नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.७ प्रतिशतले अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.० प्रतिशतले अवमूल्यन भएको थियो ।
२०७६ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद दर ११३ रुपैयाँ ५५ पैसा पुगेको थियो । २०७६ असार मसान्तमा उक्त विनिमय दर १०९ रुपैयाँ ३६ पैसा थियो । १ महिनामै डलरसंग रुपैयाँ ४ रुपैयाँ कमजोर भएको छ ।
भारतीय अर्थतन्त्र सुस्ताएपछि पछिल्ला वर्ष भारु पनि कमजोर हुँदै गएको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबारलाई १ डलर बराबर ७१ भारु तोकेको छ । नेपाली रुपैयाँ भारुसंग स्थिर विनिमयदर (फिक्स पेग) भएकाले भारुको अवस्था अनुसार नेपाली रुपैयाँको मुल्यांकन हुन्छ । फिक्सड पेगका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गर्छ ।
चालु आर्थिक वर्षको शुरुवाती अवस्थादेखि नै डलरको भाउ बढेको देखिन्छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर हुनु, नेपालको व्यापार घाटा उच्च हुनु, सोधानान्तर घाटालगायतका कारण नेपाली रुपैंया कमजोर भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउछन् । नेपाली रुपैयाँ बलियो वा कमजोर हुनुमा भारुको मुख्य भुमिका हुने उनको भनाई छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यमा डलरको खरिददर ११२ रुपैयाँ ५८ पैसा र बिक्री दर ११३ रुपैंया १८ पैसा रहेको थियो । सो बर्ष औषतमा डलरको भाउ ११२ रुपैँया ८८ पैसा थियो । यस वर्षको कार्तिक र मंसिर महिनामा डलरको भाउ सबैभन्दा उच्च थियो । यस समयमा १ अमेरिकी डलर किन्न ११७ रुपैंया २३ पैसा खर्चिनुपर्ने अवस्था थियो । सामान्यतया यस वर्ष भरी नै डलरको भाउ उच्च नै रह्यो । सो बर्षभरी १ डलरको भाउ ११० रुपैयाँभन्दा तल झरेन ।
त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा १ डलर बराबर औषतमा १०४ रुपैया ३७ रुपैंया थियो । अघिल्लो वर्ष डलर महंगिएर १२० रुपैयाँसम्म पुगेको थियो ।
आर्थिक वर्ष २०७३÷७४ मा डलरको भाउ औषत १०६ रुपैंया २१ पैसा थियो । यस अवधिमा डलरको भाउ सबैभन्दा बढी मंसिर र पुसमा थियो । यस अवधीमा डलरको भाउ १०९ रुपैँया १९ पैसा र १०९ रुपैँया ४ पैसा रहेको थियो । त्यस्तै,आर्थिक वर्ष २०७२÷०७३ मा १ डलरको खरिदर १०६ रुपैँया ५ पैसा थियो । बिक्रीदर १०६ रुपैँया ६५ पैसा थियो
डलर बलियो हुँदाका फाइदा /वेफाइदा
डलरको मुल्य बढ्दा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्छन् । डलरको मुल्य उच्च हुँदा पेट्रोलियम पदार्थको मुल्य पनि बढ्न जान्छ । विदेशबाट आयात गरिने अन्य दैनिक उपभोग्य बस्तुहरुको मुल्य बढ्छ । भारत तथा तेस्रो मुलुकबाट आयात गरिने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन्छ । विदेशबाट आयातित सबै वस्तुहरुको लागत बढेर समग्रमा बजार नै महंगो हुन जान्छ । डलरमा लिएको ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यसैले राज्यले विदेशी दातृ निकायहरुसंग लिएको ऋणको भार बढ्दा सरकारलाई बढी भार उठाउनुपर्ने हुन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । त्यस्तै विदेशी कम्पनीले लैजाने लाभांशको दायित्व बढ्छ ।
तर, डलरको मुल्य बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा भने वृद्धि हुन्छ । रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ ।