काठमाडौं । मुलुकका ६०.९ प्रतिशत जनतामा वित्तीय पंहुच पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या वृद्धिसँगै शाखा विस्तार र प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दै गएपछि वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।
केन्द्रीय बैंकले मंगलबार नेपालमा वित्तीय पहुँचको स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३०० मा आइपुगेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।
उनका अनुसार निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख, कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । मोवाइल बैकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुलाई हटाएर एक व्यक्ति एक खाता हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यो संख्या नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत हुन आउँछ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान राष्ट्र बैंकको छ ।
गत एक वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजार भन्दा बढी शाखा थपिएका छन् । कुल ७५३ स्थानीय तहहरुमध्ये ७३९ तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेका छन् ।
यसैगरी प्रति बैंक शाखा जनसंख्या उल्लेख्य रुपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता संख्या पुग्ने अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता रहेको जनसंख्याको आधारमा वित्तीय पहुँचको स्थिति मापन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्वन गर्न थालिए यताको करिव एक दशकको अवधिमा बंैक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै गएको छ ।
सो अनुसार २०७१ असारमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ । केही नयाँ लघुवित्तीय संस्थाहरुको इजाजत थपिएकोले २०७६ साउनमा १७१ पुगेको छ
पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत ४ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या दोब्बर भई २०७६ साउनमा ८ हजार ८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ६५० रहेको थियो ।
प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस