काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क १ लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए।
गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क ७ लाख ५० हजार रुपैयाँ थियो । गत महाधिवेशनभन्दा यसवर्ष २ लाख ५० हजार बढाएर १० लाख पुर्याइएको हो ।
अध्यक्षको दर्ता शुल्क १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को १ लाख रुपैयाँ तोकिएको छ । उनले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए।
निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको ७ लाख, महासचिवको ६ लाख, सचिव र कोषाध्यक्ष ५ लाख, सहकोषाध्यक्षको ४ लाख, महिला तथा युवा संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको २ लाख ५० हजार र आईसीसी सदस्यहरुको १ लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।
सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब २ हजार ५०० प्रतिनिधि सहभागी छन् ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।
निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । उनले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन् । रासस