काठमाडौं । नेपालमा उत्पादन हुने बिजुली बङलादेश निर्यात गर्न त्रिदेशीय बैठक हुने भएको छ । नेपाल, भारत र बङलादेशबीच आगामी तीन महीनाभित्र त्रिदेशीय बैठक आयोजना हुने भएको हो ।
मंगलबार सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले त्रिदेशीय बैठकको निर्णय गरेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बताए ।
नेपालबाट भारतको भुमिहुँदै बंगलादेशसम्म बिजुली पुर्याउने तयारी छ । यसमा भारत पनि सकरात्मक देखिएको छ । भारत सहमत भएमा बिजुली बंगलादेशसम्म निकासी गर्न सकिने छ ।
बङलादेशले त्यहाँको चरम ऊर्जा संकट टार्नका लागि आगामी सन २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने प्रतिबद्धता जनाएको छ । सोही प्रतिवद्धता कार्यन्वयनका लागि त्रिदेशिय वार्ता हुन लागेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वर्षको भदौमा गरेको बङलादेश भ्रमणमा त्यहाँका उच्च सरकारी अधिकारीले सो प्रतिवद्धता जनाएका थिए ।
भारतको जीएमआर इनर्जी लिमिटेडले प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादन हुने मध्ये ५०० मेगावाट बिजुली बंगलादेशलाई बेच्ने सहमति गरिसकेको छ । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
भारत हुँदै करिव २ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ । आगामी वर्षदेखि वर्षादको ६ महिना माग भन्दा बढी बिजुली उत्पादन हुने भएकाले भारतलगायत बंगलादेशमा निर्यातको तयारी भइरहेको छ । यसका लागि भारतसंग ऊर्जा बैङकिङ गर्ने सहमति पनि भएको छ ।