म्याग्दी । निर्माणधिन मिस्त्रीखोला जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकिएको छ । रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो । बाँध, विद्युतगृह, सुरुङ र पाइपलाइन जडानलाई अन्तिम रुप दिन जुटेको आयोजनाले इलेक्ट्रोमेकानिकल उपकरण जडान शुरु गरेको छ ।
९० प्रतिशत निर्माण सकिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए । “बाँध, सुरुङ र विद्युतगृह फिनीसिङसँगै जेनेरेटर, टवाइनलगायत इलेक्ट्रिक उपकरण जडान भइरहेको छ”, खड्काले भने “मिस्त्रीखोलाबाट विद्युत् उत्पादनको तयारीमा छौँ ।”
छिटोमा ३ महीनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य छ । सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम शुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट१ हजार ३४४ मिटर सुरुङ खनेको छ ।
नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो । अहिले सुरुङभित्र पलास्टर गर्ने काम भइरहेको छ । नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरेको छ ।
निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी र नहर भूमिगत हो ।
पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण गरेको छ । ५ अर्ब ६४ करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।
प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिट इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले १ अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र तत्कालिन एस डेभलभमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्टको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
विद्युत् विकास विभागले २०६४ मा निर्माण अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब–स्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो । आयोजना अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रासस