काठमाडौं । नेपाल टेलिकमले असोज ३० गतेदेखि ९० दिनसम्मको लागि अटम अफर घोषणा गरेको छ । अफरको डे भ्वाइस प्याक लिएर ग्राहकले १० रुपैँयामा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म १ सय मिनेट एनटीसीकै नेटवर्कमा भ्वाइस कल गर्न सक्नेछन् । त्यस्तै डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ ।
कम्पनीको एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य परिमार्जन नभएपनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सय रहेको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँमा उपलब्ध गराइएको छ ।
साथै पहिले देखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक,अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्टसुविधालाई निरन्तरता दिइएको छ । त्यसैगरी फोरजी(एलटीइर्) अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।
एनटीसीले उपलब्ध गराएको विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यासट्यागमा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमा पनि विस्तृत जानकारी लिन सकिन्छ ।