म निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मन्त्री भएको हो, यसमा सफल हुने छु : पर्यटनमन्त्री योगेश भट्टराइसंगको संवाद

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक ६, बुधबार,०७:००:AM  
म निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मन्त्री भएको हो, यसमा सफल हुने छु : पर्यटनमन्त्री योगेश भट्टराइसंगको संवाद

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई प्रदेश १ को ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । विद्यार्थी राजनीतिबाट आएका र धेरैले आशा गरेका युवा नेता भट्टराईले साउन १५ बाट पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको ठाउँमा उनलाई जिम्मेवारी दिइएको हो । सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई उकास्ने जिम्मा उनको काँधमा छ भने भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने मुख्य चुनौती पनि छ । नेपाल वायुसेवा निगमलाई चुस्त बनाउनेदेखि नेपाली आकाशलाई युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हटाउनुपर्ने दायित्व पनि सँगै छ । गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सञ्चालनमा ल्याउनुका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउने जिम्मेवारी पनि उनको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै केही न केही विवादमा पर्दै आएका उनले मन्त्रालयले १ वर्षभित्र गर्ने कार्ययोजना पनि सार्वजनिक गरिसकेका छन् । यी सबै कामलाई केन्द्रमा राखेर क्यापिटलका प्रकट कुमार शिशिर र सुवास योञ्जनले मन्त्री भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश  :

 
तपाईं एक विषम परिस्थितिमा मन्त्री बनेर आउनुभएको छ । स्व. रवीन्द्र अधिकारीले गरेका काममध्ये केही सफल भएका थिए भने केही असफल भए । अब  ती सफल र असफल कामलाई कसरी अघि बढाउनुहुन्छ ?

सरकार जहिले पनि अविच्छिन्न उत्तराधिकारी हुन्छ । त्यसमा पनि हामी एउटै पार्टीको सरकार । त्यसैले अघिल्लो मन्त्रीले गरेका कामलाई हामीले निरन्तरता दिन्छौं । त्यसमा पनि मूलतः मेरा लागि मार्गदर्शन भनेको संसद्मा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, बजेट, हाम्रो पार्टीको घोषणापत्र र अरु राजनीतिक दलहरुका पनि घोषणापत्र हुन् । त्यस आधारमै मन्त्रालयको नीति तथा कार्यक्रम बनाउने हो । र म त्यहीअनुरुप अगाडि बढेको छु । अघिल्लो मन्त्रीज्यूले गर्नुभएका कामहरु जुन उपयुक्त छन्, तिनीहरुलाई निरन्तरता दिइनेछ । कतिपय नयाँ कार्यक्रम ल्याएर अघि बढ्नेछु ।
 
सरकारको प्राथमितामा पर्यटन क्षेत्र छ । सरकारले महङ्खवाकाङ्क्षी योजनाका साथ २० लाख पर्यटक भिœयाउने घोषणा गरेको छ । अहिलेकै अवस्थामा २० लाख पर्यटक ल्याउन सकिन्छ त ? 

पहिलो कुरा त यो महत्वाकाङ्क्षी योजना होइन । यो स्वाभाविक योजना हो । किनकि हामीले विशेष पहल नगर्दा पनि २०१८ मा १२ लाख पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटकलाई नै लक्षित गरेर पूर्वाधारलाई जोड दिँदै छौं । २०२० मा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । त्यस्तै चीन र भारतसँगका सडक मार्गहरुमा पनि सुधार आउँछ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि चौबीसै घण्टा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेका छौं ।

यो केही महिनाभित्रै हुन्छ । यी सबै पूर्वाधारबाट विश्वासिलो आधार बन्दै जान्छ । साथै नेपाल प्राकृतिक, सांस्कृतिक र सौन्दर्यका हिसाबले एउटा अनुपम मुलुक हो । र यो मुलुकमा घुम्न आउने जोसुकैका निम्ति भाग्यको कुरा हो । त्यो कुरालाई नै अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्दै हामी अगाडि गयौं र सिङ्गो मुलुक यसमा एकबद्ध भयो । यी सबै परिस्थितिको एकमुष्ट परिणाम नै २०२० हो । २०२० लाई पर्यटनको आधार वर्ष मानेर त्यसलाई निरन्तरता दिन्छौं । आजसम्मका कामबाट २०२० मा २० लाख पर्यटक आउने कुराको ग्यारेन्टी गर्न सकिन्छ । यसमा हामी ढुक्क छौं । 

यसरी हेर्दा हामी दक्षिण एसियाको लेभलभन्दा माथि छौं । साथै आन्तरिक उडानमा पनि वार्षिक १३ प्रतिशतले वृद्धि भएको छ ।  त्यसले के देखाउँछ भने नेपालमा हवाई मार्गबाट आउनेको सङ्ख्या बढिरहेको छ । दुई ओटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि झन बढ्नेछ ।
 
तर सन् २०१८ मा पर्यटकको सङ्ख्या जसरी बढ्यो, २०१९ मा त्यसरी बढ्न सकेन नि ?

पर्यटकको सङ्ख्या खासगरी हवाई यात्रा गर्नेहरुको सङ्ख्या हेर्ने हो भने एसियामा प्रत्येक वर्ष ७ प्रतिशतको वृद्धिदर छ । र नेपालमा १२ प्रतिशत छ । यसरी हेर्दा हामी दक्षिण एसियाको लेभलभन्दा माथि छौं । साथै आन्तरिक उडानमा पनि वार्षिक १३ प्रतिशतले वृद्धि भएको छ ।  त्यसले के देखाउँछ भने नेपालमा हवाई मार्गबाट आउनेको सङ्ख्या बढिरहेको छ । दुई ओटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि झन बढ्नेछ । ती दुवै विमानस्थल सञ्चालनमा आएपछि हवाई यात्रुहरुको सङ्ख्या थपिँदै जान्छ । र नेपाल एउटा ट्रान्जिट हब बन्छ ।

भ्रमण वर्षकै कुरा गरौं, जुन गतिमा प्रचार गर्नुपर्ने हो, त्यो नभएको भन्दै आलोचना भइरहेको छ । अर्कोतर्फ सरकारले नै बनाएका संयोजक सुरज वैद्यले पनि तयारी नपुगेको भन्दै प्रतिक्रिया जनाउँदै आउनुभएको छ ? यसलाई कसरी लिनुभएको छ ?

पहिलो कुरा, पर्यटन मन्त्रालयमा ६ महिना मन्त्री नहुँदा धेरै काम हुन सकेनन् । र तयारीलाई तीव्रता दिन नसकिएको हो । तर अहिले तयारी तीव्र छ । म मन्त्री भएर मन्त्रालयमा आइसकेपछि भ्रमण वर्ष २०२० को मूल समितिको बैठक राखेर सबै सङ्घसंस्थाहरुसँग समन्वय गरेका छौं । हामी छिट्टै १  सयभन्दा बढी देशविदेशका संस्थाहरुसँग कार्यक्रम सम्झौता गर्दै छौं । सातै ओटा प्रदेशमा प्रदेशका पर्यटनमन्त्रीको संयोजकत्वमा भ्रमण वर्षको प्रदेशस्तरीय मूल समिति बनाउने निर्णय गरिसकेका छौं ।

२०२० को जनवरीको पहिलो दिन सातै प्रदेशमा भव्य शुभारम्भ गर्ने निर्णय गरिसकेका छौं । त्यस्तै जिल्ला, नगर र गाउँ तहमा सम्बन्धित प्रमुखहरुको अध्यक्षता समितिहरु बनाउने निर्णयसँगै कार्यान्वयन हुँदै छ । यसरी हेर्दा भ्रमण वर्षले गति पक्रँदै गएको छ भने बिस्तारै यसका परिणाम पनि देखिँदै जानेछन् । र भ्रमण वर्षका सयोजक वैद्यजीको भनाइप्रति मेरो कुनै टिप्पणी छैन । 

 भ्रमण वर्षको शुभारम्भ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिन फिङको प्रमुख आतिथ्यमा गर्न पाए हुन्थ्यो भन्ने चासो यहाँले राख्नुभएको थियो, यो कल्पना मात्र हो या केही आधार पनि छन् ?

हो, हामी भ्रमण वर्षका कार्यक्रम देशभर एकैसाथ गर्छौं । र त्यहाँ कहीँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको प्रमुख उपस्थितिमा सात ओटा प्रदेशमा शुभारम्भ गर्छौं । त्यसपछि विश्वभरमा जहाँजहाँ हाम्रा कूटनीतिक नियोग छन्, ती सबै नियोगहरुमा जनवरीको पहिलो साता भ्रमण वर्षको शुभारम्भ गरिन्छ ।

त्यस क्रममा सम्बन्धित देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरुलाई प्रमुख अतिथि बनाउनुपर्छ भनेर परराष्ट्र मन्त्रालयमार्फत हाम्रा नियोगहरुलाई छिट्टै नै सर्कुलर पठाउँछौं । र त्यसको मौखिक कुरा नियोगका कर्मचारीहरुलाई भनिसकेको छु । हाम्रो आशा छ, अमेरिकामा हुने कार्यक्रममा डोनाल्ड ट्रम्प, चीनको कार्यक्रममा राष्ट्रपति सी चिन फिङ, भारतको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुनेछ, हामी उहाँहरुलाई निमन्त्रणा गर्छौं र त्यो कोसिस गर्छाैं ।

 बिनाआधार डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, सी चिङ फिङमार्फत कार्यक्रम उद्घाउटन गराउने तपाईंको घोषणा जनताले पत्याएका छैनन् नि ? 

भ्रमण वर्षको कार्यक्रममा ट्रम्प र मोदीलाई बोलाउँछौं भन्दा आलोचना गर्नुपर्ने विषय हो र ? यो महत्वाकाङ्क्षी अवश्य हो । उहाँहरुलाई प्रमुख अतिथि बनिदिनु पर्यो भनेर निमन्त्रणा गर्छौं, आउनेनआउने उहाँहरुको कुरा हो । उहाँले आफू नआए पनि सरकारी प्रतिनिधि खटाउनुहोला, त्यो बेग्लै कुरा हो । तर आजै उहाँहरुलाई निमन्त्रणा गर्छु भन्ने कुरा सुन्न पनि डराउनुपर्ने कुरा होइन । हाम्रो मुलुक त्यति पछौटे र कमजोर मानसिकताबाट जानुपर्ने आवश्यकता छैन । हामी उच्च मानसिकताबाट जाने हो । विश्वका सबै राष्ट्र प्रमुख, सरकार प्रमुखहरुलाई भ्रमण वर्षको यो अभियानमा हामी कुनै न कुनै हिसाबले सामेल गर्छौं । यसमा आलोचनाभन्दा पनि मिडिया र सबैले साथ दिनुपर्ने हो । एउटा फुच्चे मन्त्रीले डोनाल्ड ट्रम्पलाई बोलाउने भन्ने कुराले मलाई त आलोचना गर्नु ठीकै छ । तर उनीहरुले आफ्नै मुलुकको बेइज्जत गरिरहेका छन् । यस्तो नगर्न अनुरोध गर्छु । 
 
पशुपतिमा आरती गर्नुभन्दा अगाडि राष्ट्रिय गान बजाउने विषयमा पनि तपाईं धेरै आलोचित हुनुभयो, यस्तो निर्णय आवश्यक थियो र ?

पशुपतिको कुरा मान्छेहरुले किन नबुझेका हुन्, मलाई अचम्म लागिरहेको छ । आज मैले राष्ट्रिय गान बजाउनुस् भन्दा त्यहाँ घाट छ भनियो । त्यहाँ मान्छे जलिरहेका छन् । यो प्रक्रिया युगौंदेखि चल्दै आएको कुरा हो । त्यस्तै वर्षौंदेखि आरती पनि भइरहेको छ । आरती बेलुका हुन्छ, त्यही बेला तल शव पनि जलिरहेको हुन्छ । राष्ट्रिय गान बजाउने कुराको आलोचना गर्ने मान्छेहरुले आरती बन्द गर्नुपर्छ भनेर त कहिल्यै भनेको सुनिएन । तीजमा हामी गयौं, राष्ट्रपतिज्यू पनि जानुभयो, त्यहाँ महिलाहरु एकदमै रमाइलो गरेर नाचिरहेका थिए । र सँगै लास पनि जलिरहेका थिए । पशुपति लास जलाउने मात्र ठाउँ होइन, त्यहाँ विवाह पनि हुन्छ, भोज चलिरहेको हुन्छ र लास पनि जलिरहेका हुन्छन् ।

त्यहाँ कामको प्रकृति अलगअलग छ, स्थान अलगअलग छ । अलगअलग स्थानमा अलगअलग काम हुने गरेका छन् । त्यसलाई किन एकै ठाउँ जोड्नु ? आरती र दाहसंस्कारलाई किन एक ठाउँमा राख्ने ? हामीले अलग ढङ्गबाट हेर्नुपर्छ । आरती अलग्गै पाटो र दाहसंस्कार अलग्गै पाटोका रुपमा हेर्नुपर्छ । दाहसंस्कारमा आउनेहरु दुःखमनाउ गर्छन्, मौनधारण गर्छन् र आरतीमा संलग्नहरु उत्सव मनाउँछन्, हर्षोल्लास मनाउँछन् । संसद् चल्दा भित्र राष्ट्रिय गान बज्छ अनि सडकमा हिँड्नेहरु पनि उभिन्छन् त ? जुन किसिमको अहिले टिकाटिप्पणी र आलोचना भएको छ, त्यसलाई म सम्मान गर्न चाहन्छु । प्रजातान्त्रिक मुलुकमा विरोध हुनु र आलोचना गर्नु स्वभाविक हो । यसलाई सरकारले सकारात्मक रुपमा लिएको छ । यसले पब्लिक बहसमा पनि ल्याएको छ । 
 
तपाईंले १० लाख मान्छे उतारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्छु भन्नु भयो, २०औं हजार व्यवसायी टुँडीखेलमा उतारेर भ्रमण वर्षको शपथ खुवाउँछु भन्नुभएको थियो । यसका लागि ठोस योजना छ कि चर्चामा आउन मात्र भन्नुभएको हो ?

निजगढ विमानस्थल साथै भ्रमण वर्षका योजना सार्वजनिक गरेका छौं । भ्रमण वर्ष सरकारको मात्र होइन, यो सबै नेपाली जनताको विषय हो । र अन्तर्राष्ट्रिय समुदायको पनि हो । यसलाई एउटा राष्ट्रिय उत्सव बनाऊँ र सबैले भाग लिने खालको बनाऊँ भन्ने हाम्रो उद्देश्य हो । त्यसका लागि २०औं हजार पर्यटन व्यवसायी र सम्बन्धित मान्छेहरु एक ठाउँमा जम्मा हौं र प्रतिज्ञा सभा गरौं । सबैले शपथ लिऊँ किनभने भ्रमण वर्ष सबैको हो, हामी लागिपर्छौं, २० लाख होइन त्यसमा थप पर्यटक पनि ल्याउन हामी कोसिस गर्छौं भन्ने सामूहिक प्रतिबद्धता जनाऊँ भन्ने हो । सामूहिक प्रतिबद्धता जनाउने कुरा के आपत्ति भयो त ? अर्को निजगढमा विमानस्थल बन्छ ।

हामी त्यो प्रक्रियामा अगाडि बढिरहेका छौं । कतिपयले निजगढमा विमानस्थल बनाउन हुन्न, २५ लाख रुख काटिन्छ भनेर तथ्याङ्कमा होइन, मिथ्याङ्कमा आधारित भएर प्रचार गरिरहेका छन् । २५ लाख रुख काटिन्छ भन्ने आतङ्क सिर्जना गरेका छन् । मैले उहाँहरुलाई सोधेको छु, २५ लाख रुख काटिन्छ भन्ने तथ्याङ्क कहाँबाट लिनुभयो भनेर । त्यहाँ त्यति धेरै रुख काटिँदैनन् । केही रुखमा क्षति हुन्छ । तर क्षति हुनुअघि नै त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सरकारको नीति छ, त्यही नीतिका आधारमा अर्को ठाउँमा वृक्षरोपण गर्ने ठाउँ हामीले खोज्दै छौं । र त्यो ठाउँको छिट्टै टुङ्गोमा पुग्नेछौं । एउटा रुख काट्नुअघि नै बिरुवा रोप्ने काम गरिसकेका हुन्छौं । त्यसैले मैले सुरुको दिनमै भनेको छु, म वातावरण विनाश गर्न आएको होइन, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा साथ दिन आएको हुँ । र त्यसको नेतृत्व गर्न आएको भनेको छु । 

कतिपयले निजगढमा विमानस्थल बनाउन हुन्न, २५ लाख रुख काटिन्छ भनेर तथ्याङ्कमा होइन, मिथ्याङ्कमा आधारित भएर प्रचार गरिरहेका छन् । २५ लाख रुख काटिन्छ भन्ने आतङ्क सिर्जना गरेका छन् । मैले उहाँहरुलाई सोधेको छु, २५ लाख रुख काटिन्छ भन्ने तथ्याङ्क कहाँबाट लिनुभयो भनेर । त्यहाँ त्यति धेरै रुख काटिँदैनन् । केही रुखमा क्षति हुन्छ ।

तपाईं पछिल्लो पुस्ताको आशलाग्दो युवा मन्त्री हुनुहुन्छ । तर तपाईंका भनाइलाई लिएर पछिल्लो समय आलोचना हुँदै गएको छ । त्यस्तै तपाईं विमानस्थलको लगेज बेल्टको उद्घाटन जस्तो सानो कार्यक्रममा पनि जान थाल्नुभएको छ । मन्त्री भएपछि किन यस्तो हुन्छ ?

पशुपतिनाथमा राष्ट्रिय गान बजाउने निर्णय मेरो मात्र होइन । मैले धेरै जनाको रायसुझावपछि यो निर्णय गरेको हुँ । सुधारका काम गर्दा मानिसहरुलाई चित्त दुख्छ । सुधारका कामले सरकारको लोकप्रियता बढ्ला कि भन्ने पनि मान्छेहरुलाई लागेको होला । हामी दुई धारबाट काम गरिरहेका छौं । एउटा, नीतिगत सुधारका कुरामा जान्छौं, त्यसले ठूलो राष्ट्रिय अभियानलाई प्रभावित गर्छ । अर्को, सानातिना सुधारहरुका पनि काम पनि गर्दै जान्छौं । चाहे त्यो लगेज बेल्ट होस् वा एयरपोर्टलाई सरसफाइ गर्ने कुरा नै किन नहोस् । ती पनि एउटा मान्छेलाई प्रत्यक्ष रुपमा प्रभावित पार्ने साना घटना हुन् । यी कामलाई प्राथमिकतामा नराखेर त्यत्तिकै बस्ने भन्ने हुँदैन ।

हामी आएको १८ महिना भयो । १८ महिनामा सबै जादु त देखाउन सकिँदैन । कुनै पनि व्यक्तिले त्यो देख्न सक्दैन । मुख्य कुरा सरकार सही ट्र्याकमा छ कि छैन भन्ने हो । आज देश बिग्रियो, खत्तम भयो भन्नेहरुले यो कुरा बुझ्नुप¥यो कि मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत प्लस किन छ ? देशमा केही नभएको भए गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ८० प्रतिशतभन्दा माथि कसरी पुग्यो ? पोखरा विमानस्थल ६ महिनाअगाडि सकिँदै छ । यो कसरी भयो ? के यी सूचक होइनन् ? हामीले अहिले पूर्वाधार निर्माणमा जोड दिइरहेका छौं, फास्ट ट्र्याकको कामले गति लिइरहेको छ ।

नेकपाको सरकार बनेको १८ महिना भयो, यति कुरा गर्छु भनेका थिए घोषणापत्रमा तर अहिलेसम्म केही पनि गरेनन् भन्ने छ । हामी टाइम बाउन्ड गर्छौं नि । पाँच वर्षसम्ममा हामीले भनेका कुराहरु ९० प्रतिशत प्लस गरेरै चुनावमा जान्छौं । हामी चुनावमा जाँदा फोस्रा गफ दिन जान्दैनौं । डाटामा कुरा गर्ने गरी जान्छौं । नेकपाको यो अन्तिम भोज होइन, हामीले धेरै भोज खान बाँकी छ । त्यसैले जनताका गुनासा, मिडियाबाट आएका आलोचना पनि हेर्छौं र यथेष्ट मात्रामा सम्बोधन गरेर अगाडि बढ्छौं । 
 
नेपाल एयरलाइन्सको प्लानअनुसार कसरी अघि बढ्ने सम्भावना देख्नुभएको छ ? रणनीतिक साझेदार भिœयाउने कुरा लामो समयदेखि चल्यो । के हामी चलाउनै नसक्ने भएर विदेशीलाई जिम्मा लगाउन लागिएको हो ?  

नेपाल एयरलाइन्स राष्ट्रिय गौरव हो । त्यसकारण यसलाई बचाउनु सरकारको दायित्व हो । म आएपछि एयरलाइन्सको सुधारका लागि प्रस्ताव पेस गर्न कार्यदल बनाएको छु । कार्यदलको प्रतिवेदनका आधारमा नेपाल एयरलाइन्सभित्र कसरी व्यापक र बहुआयामिक सुधारका प्रयत्न अगाडि बढाउन सकिन्छ भनेर हामीले ठोस  निर्णय गर्छौं । नेपाल एयरलाइन्सलाई अहिलेको अवस्थामा बस्न दिँदैनौ, यसको सुधार हुन्छ । सकारात्मक सुधारको पक्षमा हामी जान्छौं । 
 केही हवाई माफिया र पर्यटन क्षेत्रका माफियाले पर्यटन मन्त्रालय चलाउने गरेको आरोप लाग्दै गएको छ । स्व. मन्त्री अधिकारीले पनि हवाई माफियाहरुको चलखेलले काम गर्न सकिनँ भन्नुभएको थियो, तपाईं त्यो जालोलाई कसरी तोडेर अघि बढ्नुहुन्छ ?

यहाँ कुनै माफियाको जालो छैन । यहाँ हामी छौं, सरकार छ । प्रधानमन्त्रीज्यूले सरकारको प्रतिनिधिका रुपमा मलाई पठाउनुभएको छ । त्यसबाहेक अरु कुनै माफिया यहाँ छैनन् । हामी माफियाहरुसँग झुक्नुपर्ने अवस्था पनि छैन । र मन्त्रालय कुनैको छायाँमा बसेको छैन । 


 
तपाईंले छैन भन्नुभयो तर मन्त्रालयले वृद्धवृद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छूट दिऊँ भन्दा हवाई व्यवसायीले सक्दैनौं भन्दै चाबी बुझाउने चेतावनी दिन भ्याए । पछि तपाईंले स्वर्ग जाने बाटो राख्नुस् भनेर भावनात्मक कुरा गर्नुभयो, एउटा मन्त्रीले भनेको कुरा त लागू हुनुपर्छ नि होइन र ? तपाईं एक्सनमा जानुपर्ने ठाउँमा भावनात्मक कुरा लगेर जोड्न बाध्य हुनुभयो नि ?

पहिलो कुरा हामी निजी क्षेत्रविरोधी होइनौं । निजी क्षेत्र पनि सरकारको विरोधी होइन । निजी क्षेत्रका समस्या र गुनासा पनि हामी सुन्छौं र राज्यले दिने सेवासुविधामा कुनै पनि हिसाबले कन्जुस्याइँ गर्दैनौं । साथै उहाँहरुले पनि समाज र राज्यप्रतिको दायित्व बुझ्नुपर्छ । जहाँसम्म वृद्धवृद्धाहरुलाई ५० प्रतिशत भाडा छूटका लागि मोडालिटी बनाउन समिति बनाएका छौं । त्यहाँ सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता छ । उहाँहरुले बनाएको मोडालिटीअनुसार भाडा छूट कार्यान्वयन गराउँछौं । 

नेपाली र विदेशीको भाडा समायोजनको कुराचाहि कहाँ पुग्यो ?

त्यसका लागि पनि गृहकार्य भइरहेको छ । यो तयारी मेरो पालामा मात्र भएको होइन, लामो समयदेखि चर्चामा आएको कुरा हो । त्यसलाई पनि मोडालिटी बनाएर कार्यान्वयनमा लैजान काम अगाडि बढिरहेको छ । भाडामा एकरुपता ल्याउन वायुसेवा सञ्चालकहरुसँग बसेर टुङ्गोमा पुग्छांै । र हवाई इन्धनको मूल्यका विषयमा पनि छलफल अगाडि बढिरहेको छ । यी दुवै विषयमा छिट्टै उपयुक्त निर्णयमा पुग्छौं । 

पर्यटकको सङ्ख्या बढे पनि बसाइ अवधि बढ्न सकेको छैन । खर्चको दर पनि घटेको छ । प्रविधि प्रयोग गरेर नेपालमा गरेको खर्च आफ्नै देशमा पठाइरहेका छन् । यस विषयमा तपाईंले के सोच्नुभएको छ ? 

पर्यटकहरुको स्तरबारे मेरो कुनै टिप्पणी छैन । खुला बोर्डर भएका नाताले कतिपय हामीले नचाहेका मान्छे पनि आउलान्, त्यो बेग्लै हो । यो अहिले मात्र होइन, पहिलेदेखि नै चल्दै आएको हो । पछि पनि चलिरहन्छ । जहाँसम्म खर्चको कुरा छ, एउटा पर्यटकले बढीभन्दा बढी खर्च नेपालमा गरोस् । त्यसले हाम्रो डलर सञ्चितिलाई पनि बढाउँछ । शोधनान्तर स्थिति पनि बढाउँछ । र हाम्रो व्यापार घाटालाई पनि सन्तुलनमा ल्याउँछ । हामी त्यो प्रयासमा छौं । तर यसबीचमा विशेषगरी अनलाइन सिस्टममार्फत पेमेन्ट गर्ने गरेका कारण पर्यटकले दैनिक गर्ने खर्चको डाटा कम भएको देखिन्छ । पहिला ५५ डलर थियो, अहिले ४४ डलरको डाटा देखिन्छ । त्यसको कारण भनेको पहिलो त कम खर्च गर्ने पर्यटक आए होलान् । सँगसँगै अनलाइनमार्फत हुने पेमेन्ट सिस्टमले गर्दा नेपालको तथ्याङ्कमा कमी देखिएको हो ।

त्यसका निम्ति  राष्ट्र बैङ्कसँग रायसल्लाह गरिरहेका छौं । अनलाइनमार्फत होस् या नगदमार्फत भुक्तानी होस्, जुन प्रक्रियाबाट गरे पनि नेपालको ट्रेजरीमा कसरी ल्याइन्छ, यसका केही उपाय पनि खोज्नुपर्छ भनेर राष्ट्र बैङ्कलाई अनुरोध गरेका छौं । मनिटरिङ त उहाँहरुले गर्ने हो, त्यसैले केही उपाय निकाल्नुहोला । पर्यटकहरुको बसाइ लामो बनाउने कुरा पनि छन् । खासगरी लुम्बिनीमा विशेष चिन्ता छ । भारतीय भूमिबाट आउने, लुम्बिनी घुम्ने र साँझ फेरि उतै फर्कने । यो स्थितिले लुम्बिनी आसपासको क्षेत्रमा जुन ढङ्गले पर्यटनको विकास हुनुपर्ने हो, पर्यटकको आगमनबाट त्यहाँको अर्थतन्त्रमा टेवा दिनुपर्ने हो, त्यो भएको छैन । यस्तै अन्य ठाउँमा पनि समस्या छ । यसलाई केही नीतिगत उपाय हामी खोज्न थालेका छौं । त्यसका निम्ति हामी आन्तरिक रायसल्लाहमा लागिपरेका छौं । 
 
फेक रेस्क्यूमा रवीन्द्र अधिकारीले काम गर्छु भन्दाभन्दै पनि उहाँको निधन भयो । अहिले तपार्इं आउनुभएको छ । छानबिन समितिले प्रतिवेदन बनाएर कारबाहीको सिफारिस पनि गरेको थियो । दोषीलाई कारबाही नभएको भन्दै अन्तर्राष्ट्रिय जगत्मा पनि आलोचना भएको छ । यसले भ्रमण वर्षमा आउने पर्यटकलाई पनि समस्यामा पार्न सक्छ । यसतर्फ तपाईंले के गर्दै हुनुहुन्छ ? 

नेपालमा विभिन्न उद्देश्यले घुम्न आउने पर्यटकमाथि अनावश्यक दुःख, झन्झट नहोस् भन्ने हामी चाहन्छौं । र उनीहरुलाई कुनै पनि दबाबमा राख्नुहुन्न । राख्न पनि दिन्न । सरकारको तर्फबाट म आश्वस्त पार्न चाहन्छु । त्यस सम्बन्धमा कुनै कमीकमजोरी भए छानबिन समितिले बनाएको रिपोर्टका आधारमा कारबाही हुन्छ । चाहे संस्था, व्यक्ति जोसुकै भए पनि कारबाहीको भागीदार हुन्छन् ।
 
नेपाली आकाशलाई युरोपियन युनियन (ईयू)को कालोसूचीबाट कहिलेसम्ममा हटाइसक्नुहुन्छ ?

ईयूको कालोसूचीबाट हटाउन युरोपियन युनियनका राजदूतहरुसँग छलफलाई तीव्रता दिइएको छ । त्यससम्बन्धी अन्य निकाय र अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठन (आइकाओ)सँग कुराकानी गरिरहेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ । नेपालको हवाई सुरक्षा पहिलेभन्दा अहिले धेरै मजबुत भइरहेको छ । त्यसैले आइकाओले औसत ६० प्रतिशतभन्दा माथि ६६.५ प्रतिशत आएकोलाई सर्टिफाई गरेको छ ।

यसरी हेर्दा हाम्रो सुरक्षा बलियो छ । तर हामी नागरिक उड्डयनको सेफ्टी र सुरक्षाको पक्षमा कम्प्रोमाइज गर्दैनौं । ईयूले भनेको अर्को विषय नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई दुई ओटा पार्ट बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । म मन्त्री भएर आएकै दिन क्यानलाई दुई ओटा बनाउने विधेयकमा हस्ताक्षर गरेको छु । मन्त्रिपरिषद् हुँदै विभिन्न मन्त्रालयबाट सहमति लिएर संसद्मा टेबुल गर्छौं । क्यानको बोर्डको पुनर्गठनको विषय पनि ईयूले उठाएको छ, त्यस विषयमा पनि हामी छिट्टै सुधारमा लैजानेछौं । र कतिपय पूरा पनि भइसकेका छन् । यसरी हेर्दा निकट भविष्यमै नेपाली जहाज युरोपियन आकाशमा उड्छन् भन्ने विषयमा विश्वस्त छु ।

क्यापिटल  विजनेस म्यागजिनबाट

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अन्तर्वार्ता बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');