झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ ।
जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि स्थापना गरी जौबारीको एक हजार ३०० वर्गमिटर क्षेत्रफलमा केसर खेती गरिएको छ । औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित हुन्छ । यसको बजार मूल्य प्रति किलो रु १० लाखसम्म हुने प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले बताए ।
भारतको कस्मिरबाट बीउ गाना ल्याएर गत असोजमा रोपिएको केसरका बोटहरु यतिबेला फुल्न थालिसकेका छन् । खेतभरि ढकमक्क केसरको फूलको पराग टिपेर त्यसबाट केसर उत्पादन हुने गरेको छ । केसरको पराग टिप्ने कार्य शुरु भइसकेको कटुवालले जानकारी दिए । एकदेखि डेढलाख फुलको पराग सङ्कलन गर्दा एक किलो केसर उत्पादन हुने विज्ञको भनाइ छ ।
पूर्वी नेपालमा केसर खेती फस्टाउँछ कि फस्टाउँदैन भनी गत वर्षदेखि इलाममा यसको परीक्षण भइरहेको छ । गत वर्ष इलामकै माइ जोगमाई–६ थुम्के भन्ने स्थानमा करीब एक हजार ५०० वर्गमिटरमा यसको परीक्षण खेती गरिएको थियो । यस वर्ष खेती विस्तार गरिएको छ ।
केसर औषधीय गुण भएको सुगन्धित वनस्पति हो । अल्जाइमर्स र डिप्रेसनका बिरामीलाई १२ औँ शताब्दीतिर यसबाट बनेको औषधि खुवाइने गरिएको अध्ययनबाट पत्ता लागेको केसर खेतीमा लागेका झापाको मेचीनगर–६ का शङ्कर भट्टराई बताउछन् ।
भट्टराईका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ । समुन्द्र सतहबाट २००० मिटरको उचाइमा यसको खेती हुन्छ । राति १० डिग्री सेल्सियसभन्दा कम र दिउँसो १० देखि २० डिग्री सेल्सियस तापक्रम भएको चिसो भूभागमा यसको खेती मौलाउछ ।
केसर खेती रहेको ठाउँ प्रसिद्ध सन्दकपुर पर्यटकीय क्षेत्र नजिक रहेको छ । यसबाट सन्दकपुर र केसर खेतीको पर्यटनसँगसँगै अघि बढाउन सकिने सम्भावना देखिएको खेतीमा लागेका युवा उद्यमीहरुको भनाइ छ । केसर खेती भएको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन ‘टुलिप गार्डेन’ को योजनासमेत अघि सारिएको छ । टुलिप एकप्रकारको मनमोहक फूल हो, जसको एक थुँगाको मूल्य नै रु ५०० भन्दा बढी पर्छ ।
“केसर खेती रहेकै स्थानमा ससाना कटेजहरु निर्माण गरी पर्यटकलाई बास बसाउने र त्यहाँको जैविक उत्पादनको स्वाद चखाएर प्राकृतिक सौन्दर्यको आनन्द लिन आकर्षित गर्ने हाम्रो सोच छ” पर्यटन व्यवसायी शङ्कर भट्टराई भन्छन् “नेपालमा नौलो भएको हुँदा केसर खेती आफँैमा अध्ययन र भ्रमणका लागि गन्तव्य हो ।”
नेपालमा विसं २०१९ मा पहिलो टिस्टुङमा केसरको खेती परीक्षणका रुपमा गरिएको इतिहास छ । जुम्ला २०४० साल, डोल्पा २०४६ साल र ललितपुरको गोदावरी २०४७ सालमा समेत यसको परीक्षण खेती गरिएको थियो । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । नेपालमा वार्षिक कूल सात किलोसम्म केसर उत्पादन हुने गरेको अनुमान छ ।
केसर खेतीसँगै पाँच अम्ले, गुजरगाइनो, बिख्मा, सतुवा, पाखनबेद जस्ता दुर्लभ जडीबुडीको समेत खेती गर्ने युवा उद्यमीहरुको लक्ष्य रहेको छ । उन्नत प्रजातिको बाख्रा, भेडा र च्याङ्ग्रापालन गर्ने तथा रेडपाण्डा जस्ता दुर्लभ प्रजातिको वन्यजन्तुको संरक्षण गर्ने वृहत परियोजनाका साथ कम्पनी स्थापना गरिएको अध्यक्ष वीरबहादुर कटुवालले बताए । रासस