काठमाडौं । अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब भदौंसम्म सम्पन्न हुने भएको छ।
सरकारले केही साताअघि चिनियाँ निर्माण कम्पनीलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपछि अबको एक वर्षभित्र मेलम्ची आयोजनाले पूर्णता पाउन लागेको मेलम्ची बोर्डका अधिकारीहरू बताउँछन्।
तर खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ठेकेदारले लाभांश पाउने आशामा छिटो काम सक्ने आशा गरिए पनि उसलाई छिटोभन्दा छिटो काम सक्न दबाव दिन नमिल्ने बताए। गत महिना चिनियाँ ठेकेदारसँग १५ महिनामा काम सक्ने गरि सम्झौता भएको थियो।
सिन्धुपाल्चोकबाट बग्ने मेलम्ची नदीको पानी राजधानी ल्याउने २७ किलोमिटर लामो सुरुङ छिचोल्ने काम गत वर्ष नै पूरा भइसके पनि सुरुङको भित्री भाग सबल बनाउने काम बाँकी नै छ।
त्योसँगै मेलम्ची नदीमा सानो बाँध बनाएर जम्मा हुने पानी सुरुङभित्र सोझ्याउने ुहेडवर्क्स्ुको काम पनि सुरु हुन बाँकी नै छ ।
बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारले गत सेप्टेम्बर २९ मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशनलाई दिएपछि मेलम्ची आयोजनाका अधुरा काम पूरा हुने वातावरण बनेको अधिकारीहरू बताउँछन्।
सिनो हाइड्रोलाई मेलम्चीको पानी झार्न १५ महिनाको म्याद दिइएको छ। त्यसको अर्थ त्यो काम २०७७ साल पुसभित्र पूरा हुनु पर्दछ। तर त्यो काम सक्दो छिटो गराउने प्रयास भइरहेको अधिकारीहरू बताउँछन्।
आशङ्काहरू कायमै रहेपनि मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन् समयअगावै काम पूरा गरे ठेकेदार कम्पनीले लाभांश पाउने व्यवस्था गरिएकोले सिनो हाइड्रोले यही आर्थिक वर्षभित्र अर्थात २०७७ साल असार मसान्तभित्रै मेलम्चीका बाँकी काम पूरा गने सम्भावना प्रबल छ।
सुन्दरीजलस्थित मेलम्चीको पानी जम्मा गर्ने पोखरी। यहाँ बाटै मेलम्चीको पानी राजधानी उपत्यकामा वितरण गर्ने योजना छ।
उनले भने, हामीले ठेकेदारलाई चाँडै काम सके लाभांश दिने भनेका छौँ। त्यसैले यो आयोजनाको काम आगामी असार मसान्तभित्रै सकिन सक्छ।
सिनोले यसअघि नेपालमै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजनाको काम पूरा गरिसकेको छ। उसले अहिले मेलम्चीको सुरुङ सबल तुल्याउन र मुहानमा बाँध बनाउन १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रकमको ठेक्का पाएको छ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ठेकेदारले सुरुङभित्रको काम छिटो सकेमा पानी छिटो ल्याउन सकिने बताए।मुहानको पानी सोझ्याउने जत्तिकै महत्त्वपूर्ण काम हो सुरुङभित्र गर्नु पर्ने काम। सुरुङभित्रको काम जति छिटो सकिन्छ त्यत्तिनै छिटो पानी ल्याउन सकिन्छ।
सुरुङलाई सबल गराउनेलगायतका कामसँगै मुहानमा सानो बाँध बनाउने र पानीलाई सुरुङभित्र मोड्ने अभिभारा अहिले सिनो हाइड्रोको काँधमा आएको छ।
ती काम पूरा भएपछि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारी योजना छ।
अर्को विकल्प
कार्यकारी निर्देशक खत्रीका अनुसार मुहानमा बाँधको काम केही महिनाभित्रै पूरा हुन नसकेमा अस्थायी संरचना बनाएरै भएपनि मेलम्चीको पानी आउने दशैँअघिसम्ममा राजधानीमा ल्याउने योजना छ ।mमेलम्ची नेपालका राष्ट्रिय गौरवका आयोजनाहरू मध्येको एक हो। तर करिव ३५ अर्ब रुपैयाँ अर्थात ३५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
मेलम्चीको पानी काठमाण्डूको सुन्दरीजलमा झरेपछि त्यसलाई वैज्ञानिक तरिकाले उपत्यकाभित्र वितरण गर्न भन्दै नितान्त नयाँ वितरण प्रणाली बनाइएको छ। तर मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी राजधानीमा बढ्दो जनसङ्ख्याको पानीको माग पूरा गर्न पर्याप्त नहुने देखिएको छ ।
त्यसैले मेलम्चीकै सुरुङबाट मेलम्चीदेखि उत्तरपूर्वमा अवस्थित याङ्ग्री र लार्के नदीको पानी ल्याउन गृहकार्य भइरहेको अधिकारीहरू बताउँछन्। बीबीसी