काठमाडौं । व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री डा. रुप ज्योतिले जिल्ला अदालतमा आइतबार (आज) आफैंले बहस गर्ने भएका छन् ।
राजधानीको बाँसबारीस्थित एक जग्गा विवादका कारण गत बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै ज्योतीलाई प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो । प्रहरीले शुक्रबार ज्योतीलाई म्याद थपका लागि जिल्ला अदालत पेश गरेको थियो । प्रहरीले पाँच दिनको म्याद मागे पनि अदालतले ३ दिनको म्याद दिएको थियो ।
आज अदालतमा हुने बहसमा ज्योति आफैले बहस गर्ने उनका वकिल अरुण ज्ञवालीले क्यापिटल नेपाललाई बताए । ‘आफु पक्राउ पर्नुको ठोस कारण र जघन्य अपराध जसरी हिरासतमा लिइयो त्यसको कारण खोज्नकै लागि उहाँ आफैंले बहस गर्नुहुने भएको हो,’ उनले भने ।
‘यो मुद्धामा सबै कुरा प्रष्ट छ, जसले ठगिएको भनेर निवेदन दिएका छन् त्यो निवेदन दर्ता हुनु ३ दिनअघि नै त्यहि रकम फिर्ताका लागि ज्योतिजीले अदालतमा जम्मा गरिसकेको अवस्था छ, यसमा वकिलले बहस गरेर हुने केहि देखिएन,’ अर्यालले भने ।
‘पैसा फिर्ता गरिसकेको अवस्था अझ सम्झौता रकमभन्दा बढि रकम दिने र ब्याज पनि दिने भनिएको अवस्थामा षडयन्त्र गरेर पक्राउ गरिन्छ र हिरासतमा राखिन्छ भने न्यायलायले यो विषयमा पनि सुक्ष्म अनुसन्धान गर्नुपर्छ त्यसैका लागि ज्योतिजीले आफैं बहस गर्न थाल्नुभएको हो,’ उनले भने ।
ज्योतीको बहस काठमाडौं जिल्ला अदालतको ११ नम्बर बेन्चमा हुँदैछ । ज्योतिले शुक्रबार पनि न्यायधीशसँग आफु पक्राउ पर्नुको कारण सोध्दै न्यायलयलाई सघाउन प्रहरीले खोज्दाखोज्दै पनि सिंगापुरबाट नेपाल आएको बताएका थिए ।
पीडित आफैंले अदालतमा बहस गर्नु सक्ने प्रावधानमाका आधारमा ज्योतिले आफ्नो मुद्धामा आफैले बहस गर्न लागेका हुन् । बाँसवारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि विवाद बढ्दै जाँदा ज्योति बिहिबार पक्राउ परेका हुन् ।
सम्झौतामा ६ आना ३ दाम २.१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख थियो । त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएका थिए । ल्याण्डमार्क घर बनाउन सीई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।
तर त्यसमा घर नबनेपछि मल्लले आफु ठगिएको भन्दै प्रहरी हुँदै अदालत पुगेका थिए । मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । प्रहरीले ज्योतिलाई पक्राउ गर्न अदातलबाट आदेश लिएको थियो ।
त्यो आदेशको खारेजीको माग गर्र्दै ज्योति सर्वाेच्च अदालत गएका थिए । यहि मुद्धामा कार्तिक १८ उनको माग नपुग्ने भन्दै सर्वाेच्चले रिट खारेज गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ल्याण्डमार्कमा ज्योतिको साझेदारी छ । त्यसैले उनी पक्राउ परे तर मल्लले दिएको अग्रिम पैसा सीई कन्स्ट्रक्सनले बुझेको ज्योति समूहको भनाई छ ।