काठमाडौं । नेपालको चार दिने सदभावना भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलवार काठमाडौं आइपुगेका छन्। दक्षिण एसियाका यी दुई छिमेकी मुलुकबीचको सम्बन्ध पछिल्लो समय सम्पर्क सञ्जाल तथा ऊर्जा सहयोगमा केन्द्रित हुन थालेको छ।
गत वर्ष नै ब.गलादेशले नेपालबाट दुई दशकभित्र ९ हजार मेगावाट बिजुली किन्ने जानकारी गराएको छ । दुई देशबीच भएको ऊर्जा सहयोगसम्बन्धी समझदारीपश्चात् उनीहरू अहिले भारतलाई त्यसमा सघाउ पुर्यार्उन घच्घच्याउँदैछन्।
हाल देशको कूल जडित क्षमता नै १ हजार २०० मेगावाट छ । केही वर्षभित्र बंगलादेशमा बिजुली निर्यात गर्न सकिने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेका अनुसार यो एकदमै सम्भव छ।
बंगलादेशको सरकारी दस्तावेजमा उनीहरूले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्न चाहन्छौँ भन्ने उल्लेख गरेका छन्। त्यसकारण सन् २०४० सम्मको हाम्रो योजना हेर्दाखेरि त्यो परिमाणमा निर्यात गर्न सम्भव हुन्छ सचिव घिमिरे बताउँछन।
दुई देशबीच ऊर्जा सहयोग समझदारी पत्रमा हस्ताक्षर भएपछि दुईवटा बैठक भइसक्यो। ती दुवै बैठकको केन्द्रमा बंगलादेशले नेपालमा जलविद्युतमा लगानी गर्ने अनि नेपालबाट ऊर्जा आयात गर्ने जस्ता विषयमा केन्द्रित रहेका थिए ।
बंगलादेशले नेपालमा जलविद्युत आयोजनामा लगानी गर्न चाहिरहेको छ। दुवै देश मिलेर उपयुक्त आयोजना छनोट गर्ने काम भइरहेको छ। पहिचानको लागि एउटा संयुक्त कार्यसमूह बनेको छ, घिमिरेले बताए।
नेपालको विद्युत खरीद कुन प्रक्रियामार्फत् गर्ने भन्ने बारे पनि छलफल भएका छन्। प्रसारण सञ्जाल कस्तो हुने ? उसंग सोझै प्रसारण लाइन जोड्ने हो कि वा भारतको प्रसारण संरचना उपयोग गरेर ऊर्जा आयात र निर्यात गर्ने हो कि भन्ने बारे छलफल भएका छन्।
यस विषयमा भारतीय पक्षसँग पनि साथै बसेर त्रिपक्षीय सहमति गर्ने भन्ने हाम्रो कुरा भएको छ। सोही अनुसार भारतलाई प्रस्ताव गरेर हालै भारतमा सचिवस्तरीय बैठक पनि गर्यौँ।
करिब एक महिना पहिले भारतको बेंगलुरुमा बसेको सो बैठकमा तीन महिनाभित्र त्रिपक्षीय बैठक बस्ने महत्त्वपूर्ण सहमति पनि भएको घिमिरेले बताए।
सचिव घिमिरे भन्छन हामी विश्वस्त छौँ। जुन किसिमका प्रतिबद्धताहरू व्यक्त भएका छन्, जस्ता द्वीपक्षीय तथा क्षेत्रीय सम्झौताहरू भएका छन्, तिनलाई नै आधार मानेर हामी अघि बढ्ने हो। भारत सकारात्मक छ।
माथिल्लो कर्णालीबाट उत्पादन हुने मध्ये ५०० मेगावाट बिजुली बंगलादेशका बिक्रीका लागि जीएमआर इनर्जी लिमिटेडले त्यहाँको कम्पनीसंग एमओयू गरेको छ । बीबीसी