काठमाडौं । माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको पुननिर्माण सकिएको छ । आयोजनाबाट परीक्षण विद्युत उत्पादन हुन लागेको छ । ४५ मेगावाट क्षमताको सो आयोजनाले एक साताभित्र परीक्षण उत्पादन थाल्ने भएको हो ।
आउँदो मंसिरको दोस्रो सातादेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गर्ने भोटकोसी पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्रमरत्न स्थापितले बताए ।
परीक्षण उत्पादन सुरु गर्न नेपाल विद्युत प्राधिकरणसंग छलफल भएको र केहीदिन भित्रै थालिने उनले जानकारी दिए । परीक्षण उत्पादनको दुई सातापछि औपचारिक रुपमा बिजुली उत्पादन हुनेछ ।
आयोजनाको बाँकी रहेको पुननिर्माण सम्पन्न गरी पानी भर्ने काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकलको काम पनि सकिएको छ ।
२०७२ सालको भूकम्प र त्यसपछि भोटेकोसीमा आएको बाढीले आयोजनामा ठुलो क्षति भएको थियो । आयोजनाको ठेकेदार चीनको सिनो हाइड्रो कर्पाेरेशन रहेको छ ।
आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ । आयोजना बनाउन तारा म्यानेजमेन्टले ७ अर्ब रुपैयाँ थप लगानी गरेको छ । यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो ।
आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको छ ।
आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुन्छ । आयोजना पुननिर्माणपछि जडित क्षमतामा कुनै असर नपरेको उनले बताए ।
विद्युतगृहको इलक्ट्रोमेकानिकल र जनेरेटर पूरै परिवर्तन गरी नयाँ जडान गरिएको स्थापितले बताए । २०७२ को भूकम्पले पेनस्टक पाइपमा क्षति पुुर्याएको थियो । पेनस्टक पाइप बनेपछि २०७३ साउनमा आएको बाढीले पुनः आयोजनाको बाँध संरचना पुर्नुका साथै विद्युतगृहमा क्षति पुर्याएको थियो ।
आयोजनाको तातोपानीको १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त हुनुका साथै दुई ओटा ढोकासमेत बाढीले पुरिएको थियो । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भूभागबाट बाढीले खोलेपछि हाल सोही ठाउँबाट नदी बगेको छ । आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ ।
आयोजना सन २००१ देखि सञ्चालनमा आएको हो । अमेरिकाको पाण्डा इनर्जीले निर्माण गरेको आयोजना पछि तारा म्यानेजमेन्टले खरिद गरेको हो ।
९५ प्रतिशत तारा म्यानेजमेन्टको र बाँकी ५ प्रतिशत अमेरिकाको हार्जा इन्टरनेसनल इंकको स्वामित्व छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली डलरमा खरिद गर्ने छ ।