काठमाडौं । व्यवसायी डा. रुप ज्योति र उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्लबीच मिलापत्र हुने भएको छ । ल्याडमार्क हाउजिङ्गको नाममा ठगी गरेको आरोपमा ७ दिनदेखि थुनामा रहेका ज्योतिको मुद्दा मिलापत्र हुने तयारीमा छ ।
उजुरीकर्ता विज्ञेन्द्रकृष्णलाई दिनुपर्ने रकम दिएर जाहेरी फिर्ता लिने सहमति भएको छ । ज्योतीविरुद्ध मल्लले हालेको जाहेरी फिर्ता लिने र अब मुद्दा नचल्ने राय सरकारी वकिलको कार्यालय काठमाडौं पुगिसकेको छ ।
मल्ललाई जग्गा बैना वापतको रकम ज्योतिले फिर्ता दिने र रकम लिएर उजुरीकर्ता मल्लले जाहेरी अघि नबढाउने राय जिल्ला प्रहरी कार्यालयमा दिएपछि सरकारी वकिलको कार्यालयमा मुद्दा मिलापत्रबाट टुङ्गिने अवस्थामा पुगेको हो। संभवत आज उनीहरुबीच मिलापत्र भई ज्योति र उनकी छोरी सुरुची आजै हिरासत मुत्त हुने छन ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जाहेरीकर्ताले नै ठगी बापतको रकम पाउने भएकाले चित्त बुझाएको राय आएकाले अब मुद्दा नचल्ने बताए। हामीकहाँ मुद्दा नचल्ने रायसहितको प्रहरी प्रतिवेदन आएको छ, उनले भने राय हेरेर थप अनुसन्धान गरी अदालतमा पठाउने तयारी गरेका छौं।
मुद्दा नचल्ने अवस्था भएमा सरकारी वकिल कार्यालयले नै मुद्दा नचलाउने निर्णय गर्नेछ। ठगी, बैंकिङ् कसुरसहितका केही अपराधमा जाहेरीकर्ता सहमत भएमा मुद्दा फिर्ता हुन सक्ने कानुनी व्यवस्था छ।
जिल्ला अदाललते पहिलो पटक तीन र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको छ। अदालतले दिएको समय सीमा शुक्रबार सकिँदै छ। अर्को पटक म्याद थपका लागि लैजानु अघि नै उनीहरू विरुद्ध रहेको जाहेरीमा मुद्दा नचल्ने निर्णय गराउने प्रयास भएको हो।
महानगरीय प्रहरी परिसरको टोलीले रूप ज्योती बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।