काठमाडौं । हिमालयन बैंकको वार्षिक साधारणसभापछि मात्र पाकिस्तानको हबिव बैंकबाट बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी ग्रुप) संस्थापक सेयर हस्तान्तरण हुने भएको छ ।
लाभांश प्रस्ताव गरिसकेकाले अब साधारणसभापछि मात्र सेयर हस्तान्तरण हुने हिमालयनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्शेर जबराले बताए ।
बिहीबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरी २२ प्रतिशत लाभांश प्रस्ताव गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउँदै छ । केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र साधारणसभाको मिति तय हुनेछ ।
हिमालयनले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हिमालयनले गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
हिमालयनमा रहेको हविवको नाममा रहेको सेयर हस्तान्तरण हुन पुस लाग्नेछ । जति छिटो साधारणसभा भयो त्यत्तिनै छिटो सेयर हस्तान्तरण हुने उनको भनाई छ । सेयर हस्तान्तरण नभएकाले यो वर्षको लाभांश हविवले लैजाने भएको छ ।
हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) को काम लगभग सकिएको छ । हबिवले सीडीसीसँग प्रतिकित्ता २.५२ अमेरिकी डलर अर्थात हालको प्रचलित मूल्यअनुसार २८० रुपैयाँमा खरिदबिक्रीको सहमति गरिसकेको छ ।
हबिव र सीडीसीबीच हिमालयनको २० प्रतिशत स्वामित्व खरिदबिक्रीमा सहमति भइसकेको छ । सहमतिअनुसार सीडीसीले हिमालयनमा रहेको हबिबको १ करोड ७० लाख ४० हजार ५११ कित्ता सेयर किन्ने सहमति गरेको छ । प्रतिकित्ता २८० रुपैयाँलाई मान्दा सीडीसीले लिने २० प्रतिशत स्वामित्वको मूल्य ४ अर्ब ७७ करोड १३ लाख ४३ हजार रुपैयाँ हुनेछ ।
वेलायतको सीडीसीले हबिवको संस्थापक स्वामित्व खरिद गरेर औपचारिक रुपमा नेपालको वित्तीय क्षेत्रमा प्रवेश गर्न लागेको हो । सीडीसीले कोरियन र नेपाली लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा ५ करोड डलर अर्थात ५ अर्ब रुपैयाँ ऋण लगानी गर्नका लागि सहमति जनाएको छ ।
यस्तै वल्र्ड लिंक कम्युनिकेसनमामा सीडीसीले १ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयनमा कर्मचारी सञ्चय कोष र खेतान ग्रुपको पनि स्वामित्व छ ।
सीडीसीले एनएमबी बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ ऋण दिइसकेको छ । सीडीसी बेलायत सरकारको पूर्ण स्वामित्वको बैंक हो । सीडीसीले विभिन्न मुलुकलाई ऋण दिँदै आएको छ ।