काठमाडौं । खराब कर्जा बढेपछि नेपाल इन्भेस्टमेन्ट बैकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेपाल इन्भेस्टमेन्टको नाफा २० प्रतिशत घटेर ८४ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
नेपाल इन्भेस्टमेन्टले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणअनुसार नाफा २१ करोड रुपैयाँ घटेको छ । निष्क्रिय कर्जा बढेर २.८४ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२१ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष निष्क्रिय कर्जा १.६७ प्रतिशत बढी छ ।तीन ओटा ठूला ऋणीबाट ऋण नउठेपछि नेपाल इन्भेस्टमेन्टको नाफामा गम्भीर धक्का लागेको हो ।
इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमएसी) लगायत अन्य २ ठुला ऋणीले कर्जा नतिरेपछि समस्या आएको हो । सीएमसीको कार्यसम्पादन जमानतको काउन्टर ग्यारेन्टीबापतको करिब १ अर्ब ९६ करोडलगायत अन्य दुई ठुला ऋणीले कर्जा तिरेका छैनन ।
सीएमसी काममा नफर्केपछि १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडले सीएमसीले नेपाल इन्भेस्टमेन्टमा राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफत गरेको थियो ।
इटालियन अदालतबाट जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको छ । यो महिनाभित्र पैसा आउने वा नआउने विषयमा फैसला हुँदै छ ।
खराब कर्जा कम हुने बैंकलाई राम्रो मानिन्छ । यसले वित्तीय सुशासन र अवस्था राम्रो भन्ने संकेत गर्छ । खराब कर्जाको प्रतिशत जति बढी भयो, प्रोभिजनिङका कारण नाफा घटेर सेयरधनीले पाउने लाभांश कम हुन्छ ।
५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा नियामक नेपाल राष्ट्र बैंकले कारबाही गर्छ । खराब कर्जाका कारण यो वर्ष नेपाल इन्भेस्टमेन्टका लगानीकर्ताले पाउने लाभांशमा गिरावट आउने छ ।
केही वर्षअघि मेलम्ची खानेपानी आयोजनाको तत्कालीन ठेकेदार चाइना रेलवे १५ ब्युरो कर्पोरेसनको काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमान्डुको १ अर्ब ५० करोड रुपैयाँ डुबेपछि यो रकम प्रोभिजनिङ गर्दा नाफामा भारी गिरावट आएको थियो । दुवै बैंकले डुबेको रकम उठाउन प्रयास गरिरहेका छन। हालसम्म पैसा उठाउन सकेका छैनन ।
गत आर्थिक वर्षमा बैंकको नाफा घटेर ३ अर्ब ४१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा इन्भेस्टमेन्टले ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
चालु आर्थिक वर्षको असोजसम्म बैंकको निक्षेप लागत ६.३४, सीसीडी ७५.६२, आधारदर ८.४८ र स्प्रेडदर ४.३६ प्रतिशत छ । प्रतिसेय आम्दानी घटेर २६ रुपैयाँमा सीमित भएको छ ।
३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई ४२ करोड ३७ लाख रुपैयाँ नाफा वितरण गर्न सक्ने वित्तीय विवरणमा उल्लेख छ ।