सफ्टवेरिका कलेजले वेलायतको नेशनल कम्प्युटिङ सेन्टरसँगको सहकार्यमा नेपालमा आईतबार देखि डिजि स्कूलको औपचारिकरुपमा सुरुवात गरेको छ । डिजी स्कुलको अबधारणा, सान्दर्भिकतालगायतका बिषयमा सफ्टवेरिका कलेजका प्रिन्सीपल प्रमोद पौड्यालसँग गरिएको कुराकानीः
नेपालमा सार्वजनिक भएको डिजी स्कुल कस्तो खालको पाठ्यक्रममा आधारित छ ?
डिजी स्कुल कक्षा २ देखि ११ सम्मका विद्यार्थीका लागि सूचना प्रबिधिमा आधारित शिक्षा हो । हुन त अहिले पनि विद्यालयहरुमा कम्प्युटर प्राविधिक शिक्षा पढाइन्छ, तर डिजी स्कुल कोर्स एउटा अर्गनाइज्ड कोर्स हो । यसमा विद्यार्थीलाई स्टेप बाई स्टेप प्रोगामिङ ल्याङ्ग्वेज सिकाएर, फोटो इडिटिङदेखि नेटवर्किङका कुरा सिकाइन्छ । विद्यार्थी ११ कक्षा सम्म पुग्दा प्राविधिकरुपमा सक्षम हुने र भविष्यमा आईटी क्षेत्रमा करिअर बनाउन सजिलो हुन्छ ।
अहिलेपनि विद्यालय स्तर देखि उच्च माध्यमिक तहसम्म कम्प्युटर विज्ञान पढाइ भइरहेको छ । तर, डिजीस्कुल अन्य भन्दा कसरी फरक छ ?
अहिले हामीले स्नातक तहमा सार्वजनिक गरेको विषयहरुमा आईटीको ज्ञान हुनै पर्छ भन्ने छैन । तर, आईटी ज्ञान भएमा विद्यार्थीले चाडै बुझ्न सक्छन् । कम्प्युटर साइन्समा जति चाँडो विद्यार्थीले सिक्छ, त्यसलाई व्यवहारमा त्यति छिटो उतार्न सक्छ । अहिले सहरी स्कुलहरुमा कम्प्युटर साइन्सको सामान्य कोर्ष त हुन्छ, तर त्यो सस्थागत रुपले भइरहेको छैन । डिजी स्कुलबाट हामी यहीँ कुरालाई सस्थागत पाठ्यक्रमका रुपमा लिएर जान्छौ । यसको वेलायतबाट गुणस्तर सुनिश्चित हुन्छ । वेलायतको क्वालिटी असुरेन्स भन्ने एउटा सस्थाले हेरेर २५ ओटा देशहरुमा लागू भईरहेको छ ।
नेपालमा पहिलोपटक सफ्टवेरिका कलेजले नै यसलाई लन्च गरेको हो । अहिलेको दुनियाँ प्राविधिक क्रान्तिमा अगाडी बढिरहेको छ । यहीँ समय हामीले बच्चालाई प्रविधिको नजिक ल्याएनौं प्रविधिसँग चिनाएनौं भने हाम्रो बच्चा विश्विक प्रतिस्पर्धामा सहभागी हुन सक्दैन । पश्चिमा मुलुकमा बच्चाहरुले ५÷६ वर्षदेखि यी सम्पूर्ण कुराहरुको ज्ञान लिईरहेको छन् । विश्व एउटा सानो गाउँ भइसकेको छ । नेपालीहरु एकदमै अदक्ष जनशक्तिको रुपमा दुबई कतार जस्ता मुलुकहरु गईरहेका छन् । भोली हामीले विश्वसँग प्रतिस्पर्धा गर्ने हो भने आजै देखि यी कुराहरु सिक्न आवश्यक छ । त्यसैले डिजी स्कुलको पाठ्यक्रम नपढाएपनि बच्चाहरुलाई सानै देखि प्राविधि शिक्षा चाहिँ दिनपर्छ ।
यसको पाठ्यक्रम र पठनपाठनको मोडालिटी कस्तो हुन्छ ?
विभिन्न तह अनुसारको पाठ्यक्रम छ । भर्खरै पढाई सुरु गरेका बच्चालाई कक्षा दुई देखि कोर्स हुन्छ । पाँच कक्षामा पढ्ने मध्य स्तरका विद्यार्थीहरुको लागि फरक कोर्स छ । त्यस्तै ९ कक्षामा एउटा र ११ कक्षाको लागि अर्को कोर्स छ । यसरी चार ओटा लेभलमा अध्ययपन गराइन्छ । २÷३ मा पढ्ने बच्चालाई अप्ठ्यारा कोड लेख्न सिकाईदैँन, लेभल अनुसार पढाईन्छ । मनोरञ्जनमा आधारित कोर्स डिजाइन गरिन्छ ।
प्रविधिक विषय केहि महंगो मानिन्छ, डिजि स्कुलमा शूल्क संरचना कस्तो छ ?
अहिले काठमाडौंको एउटा मध्यमस्तरको विद्यालयको शुल्क करिब ५ हजारदेखि १२ हजारसम्म रहेछ । यसरी हेर्दा डिजी स्कुलको शूल्क एउटा विद्यार्थी बराबर मासिक ६ देखि ७ सयसम्म थप पर्न आउने रहेछ । अब ग्रामिण स्कुलको हकमा भने सरकारी अनुदान रहने हुँदा उनीहरुको फि कम हुन्छ । त्यसकारणले हामीले ग्रामिण विद्यालयहरुमा सरकारसँग पनि सहकार्य गर्ने योजनामा छौ ।