काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले भूमिगत तार व्यवस्थापन गर्ने जिम्मा एकलौटी ढंगले नेपाल टेलिकमलाई दिन लागेको भन्दै इन्टरनेट सेवा प्रदायक सस्था आइस्पानले असन्तुष्टि ब्यक्त गरेको छ । इन्टरनेट सेवा आपूर्ति गर्दै आएको नीजि कम्पनीहरुलाई कुनै जानकारी नदिई उक्त परियोजनाको ठेक्का टेलिकमलाई दिन लागेको भन्दै आईस्पानले विरोध जनाएको हो ।
‘तारको भूमिगत व्यवस्थापन समसामयिक परियोजना हो, यसको हामीले विरोध गरेका हौंइनौं, ’ आईस्पानका अध्यक्ष भोजराज भट्टले भने, ‘तर, यो परियोजनासँग प्रत्यक्ष सम्बन्ध रहेको सरोकारवाला संस्थासँग प्राधिकरणले सल्लाह नै नगरी एकलौटी निर्णय गर्यो । हामीले त्यसको विरोध गरेका हौं ।’ सरकारका सबै परियोजनामा बोलपत्र आह्वान गर्नु कानुनी प्राबधान छ ।
तर, सो परियोजनामा कुनै बोलपत्र आह्वान नगरी कानुनी प्रक्रियालाई मिचेर एउटा सरकारी स्वामित्वको कम्पनीलाई ठेक्का हस्तानतरण गर्ने तयारी भएको उनको आरोप छ । भट्ट भन्छन्, ‘त्यसमाथि नेपाल टेलिकम आफै पनि सेवा प्रदायक कम्पनी हो, उ आफैले पनि इन्टरनेट सेवा प्रदान गर्छ, हामी प्रतिस्पर्धी हौ ।’ सोहि कारण यस्तो परियोजनाको ठेक्का कुनै पनि पूर्वाधार निर्माण कम्पनीलाई दिदाँ उपयुक्त हुने उनको भनाई छ ।
‘इन्टरनेट सेवाका लागि हामीले अहिलेको विजनेस मोडालिटीलाई हेरेर निश्चित मूल्य तोकि बैंकबाट ठूलो ऋण लिएका छौं । यसको मोडालिटी कस्तो हुन्छ हुन्छ पनि थाहा छैन, हाम्रो ‘रिटर्न अफ इन्भेस्टमेन्ट’ नै अन्योलमा परेपछि कसरी व्यवसाय गर्ने ।’ अध्यक्ष भट्टले भने । मन्त्रीपरिषदको कात्तिक ५ गतेको निर्णय अनुसार उपत्याका भित्रका १५ रुटमा भूमिगत तार व्यवस्थापनका लागि दुर सञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको थियो ।
प्राधिकरणको एकलौटी निर्णयको बिरोध गर्दै आईस्पानले गत कार्तिक २९ गते पत्र लेखेका थियो । प्राधिकरणले त्यसको जवाफमा आईस्पानलाई आज वार्तामा बोलाएको छ ।