काठमाडौं । दर्जनभन्दा बढी स्टिल उद्योगलाई बैङ्कले पेनाल्टी लगाउने जोखिम बढेको छ । निरन्तर दुई वर्ष उद्योग घाटामा सञ्चालन भएका उद्योगलाई राष्ट्र बैङ्कको नियम अनुसार निगरानी (वाचलिस्ट)मा राखेर बैङ्कले पेनाल्टी/ब्याज बढाउन सक्छन् ।
उद्योगीका अनुसार गतवर्षबाट स्टिल उद्योगहरु घाटामा छन् । चालू आर्थिक वर्षमा पनि घाटामै रहने सम्भावना बढेको छ । यदि चालू आवमा पनि स्टिल उद्योग घाटामै रहेमा बैङ्कले वाचलिस्टमा राख्ने र त्यही अनुसार पेनाल्टी लगाउने, ब्याज बढाउने वा दुबै गर्न सक्ने उद्योगीहरु बताउँछन् । बैङ्कले केही समय अघि मात्रै विभिन्न चिनी उद्योगलाई पनि निगरानीमा राखेको छ । यस्तो निगरानीमा पर्ने वित्तिकै बैङ्कले ब्याज बढाउने तथा पेनाल्टी थप्ने काम गर्छ ।
चिनी उद्योगलाई पनि विभिन्न बैङ्कले पेनाल्टी तथा उच्च ब्याज लगाउदै आएका छन् । ‘बुझाउनुपर्ने सावाँ ब्याज बुझाउँदा समेत बैङ्कले घाटामा गएको उद्योगलाई वाचलिस्टमा राख्छ,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘उनीहरुलाई बुझाउनुपर्ने सावाँ ब्याज नबुझाइएको भए, पेनाल्टी वा ब्याज वृद्धि गर्न उचित हुन्थ्यो । तर, उद्योग घाटामा गयो भन्दैमा बैङ्कले निगरानीमा राखेर त्यसरी ब्याज बढाउन वा पेनाल्टी लगाउन हुँदैन ।’ व्यापारमा सधै नाफा हुन्छ भन्ने हुँदैन ।
उनीहरुले हेर्नुपर्ने भनेको उनीहरुलाई बुझाउनुपर्ने ब्याज समयकै बुझायो कि बझाएन भन्ने हो । तर, यहाँ उद्योगको ब्यालेन्ससीट हेरेर घाटा गएको देखिए बैङ्कले उद्योगलाई वाचलिस्टमा राख्ने गरेको उनको भनाई छ । विगत दुई वर्ष देखि चिनी उद्योग घाटामा गएपछि बैङ्कले सम्पूर्ण चिनी उद्योगलाई वाचलिस्टमा राखिसकेको छ ।
गतवर्षदेखि स्टिल उद्योग पनि घाटामा जान थालेको छ । यदि यो वर्ष पनि घाटामै गयो भने बैङ्कले निगरानीमा राख्ने शङ्कर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । ‘एकातिर उत्पादित सामग्री गोदाममै थन्किने अवस्था छ भने अर्कोतिर बैङ्कको कारबाही पनि भोग्नुपर्ने भएको छ,’ उनले भने । सरकारले विकास निर्माणलाई तीब्रताका साथ अघि बढाउन सकेको भए उद्योगको उत्पादन पनि खपत हुन्थ्यो र बैङ्कको पेनाल्टीबाट समेत बच्ने अवस्था आउथ्यो । तर, चालू आवमा पनि उद्योग घाटामै रहने सम्भावना भएको उनको भनाइ छ ।
के हो वाचलिस्ट ?
उद्योगहरु निरन्तर घाटामा गए राष्ट्र बैङ्कको कानुन अनुसार बैङ्कहरुले त्यस्ता उद्योगलाई निगरानीमा राख्नुपर्ने प्रावधान छ । उद्योगले बैङ्कमा पठाएको व्यालेन्ससीटलाई हेरेर उद्योगलाई निगरानीमा राख्छन् । बैङ्कले उद्योगलाई कति ऋण दिएका हुन्छन्, त्यही अनुसार प्रोभिजनिङ गर्नुपर्छ । त्यसरी प्रोभिजनिङ गर्दा तत्कालका लागि बैङ्कको नाफा कम देखिन्छ । प्रोभिजनिङ गर्ने वित्तिकै बैङ्कले उद्योगलाई पेनाल्टी वा ब्याज समेत बढाउने गर्छन ।