काठमाडौँ । बीमा क्षेत्रमा थपिएका नयाँ जीवन बीमा कम्पनीहरुले आक्रमक ढंगले आफ्नो बजार बिस्तार गर्न थालेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १० नयाँ जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन तथा नाफा उत्साहप्रद देखिएको हो । कतिपय कम्पनीहरुले त पुराना बीमा कम्पनी भन्दा पनि कारोबार गरेका छन् ।
पहिलो त्रैमासमा नयाँ जीवन बीमा कम्पनीहरुले मात्र २ अर्व ८४ करोड रुपैँया प्रिमियम संकलन गरेका छन् । यसमध्य सबैभन्दा बढी प्रिमियम युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ७७ करोड ८२ लाख शुल्क संकलन गरेको छ ।
त्यस्तै, प्राइम लाइफले ७५ करोड ७६ लाख, सूर्या लाइफले ५७ करोड ९१ लाख, गुराँस लाइफले ४४ करोड ८५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ तथा आईएमई लाइफलको प्रिमियम संकलन २० करोडको हाराहारीमा छ । सानिमा लाइफ र प्रभु लाइफले १३ करोड तथा महालक्ष्मी लाइफले सबै भन्दा कम १० करोड ३६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यस्तै, नयाँ बीमा कम्पनीहरुमध्य पहिलो त्रैमासमा युनियनले सबैभन्दा बढी १० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्राईम लाइफले १० करोड २ लाख, सूर्या लाइफले ७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, रिलायवल लाइफले ५ करोड ८१ लाख, सिटिजन लाइफले ५ करोड १ लाख, ज्योति लाइफले ३ करोड ७६ लाख, सन् नेपाल लाइफले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको उनीहरुको वित्तीय विवरणले देखाएको छ ।
गुराँश लाइफले ३ करोड १९ लाख, महालक्ष्मी लाइफ र आईएमई लाइफले २ करोड खुद नाफा गरेका छन् । प्रभु, सानिमा तथा रिलायन्स इन्स्योरेन्सले भने १ करोडको हाराहारीमा खुद नाफा कमाएका छन् ।