काठमाडौं । गत आर्थिक वर्ष (२०७५/७६)को बजेट सार्वजनिक भएसँगै ‘प्राइभेट’ कम्पनीहरु ‘पब्लिक’ जाने भन्दै व्यापक हल्लामा उत्रिए । प्राईभेट कम्पनी पब्लिकमा जाने हल्ला गर्न प्रतिस्ठित उद्योगपति÷व्यवसायीबीच को अघि भन्ने प्रतिस्पर्धा नै थियो ।
तर, अर्थ मन्त्रालय सुस्ताएपछि उनीहरु पनि विस्तारै चिसिँदै गए र अहिले सर्वसाधारणलाई सेयर जारी गर्ने भन्ने कुरा नै हराउन थालेको छ । प्राईभेट कम्पनी ‘होल्ड’ गरेर बसेका धेरै उद्योगी÷व्यवासयीहरु पक्रियामा रहेको भनेर पन्छिने गरेका छन् ।
गत आर्थिक वर्ष (२०७५/७६)को बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले ५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका प्राईभेट लिमिटेड कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन प्रोत्साहन स्वरुप ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने प्रस्ताव गरेका थिए ।
त्यसैगरि १ अर्व वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका थिए । यो व्यवस्था छिट्टै सरकारले लागू गर्ने र त्यसले आफूहरुलाई अप्ठ्यारो पर्ने अनुमान गरि हामी पब्लिकमा जान तयार छौं भन्ने सन्देश प्रवाहित गरेका उनीहरु अर्थमन्त्रालय नतातेपछि भने मौन छन् ।
विगतमा सर्वसाधारणलाई सेयर जारी गर्ने घोषणाहरुले अहिलेसम्म सेयर निस्काशन अनुमति मागेका छैनन् । सर्वसाधारणलाई सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्छ । बुद्ध एयर, डिस होम, चन्द्रागिरी हिल्स, भाटभटेनी सुपरमार्केट, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, सिजी सिमेन्टलगायतले सर्वसाधारणमा सेयर जारी गर्ने हल्ला गर्न तत्छाडमछाड नै गरेका थिए । तर, अहिलेसम्म कोही कसैले पनि स्वभाविक प्रक्रिया सुरु गरेका छैनन् ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले विगतमा सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया बारे बुझन आउने गरेपनि हाल कोही पनि यस विषयमा चासो नराखेको बताउँछन् । ‘उहाँहरु आन्तरिक तयारीमा हुनुहुन्छ होला, तर अहिलेसम्म बोर्डमा केही पनि जानकारी आएको छैन’ उनले भने ।
धितोपत्र बोर्डकाअनुसार सर्वसाधारणमा सेयर जारी गर्नुअघि कुनै पनि कम्पनीले अनिवार्य रुपमा क्रेडिट रेटिङ गरी कर तिरेको विवरण र लेखापरिक्षण प्रतिवेदनसहित बोर्डमा निवेदन दिनुपर्छ । त्यसअघि प्राईभेट लिमिटेड कम्पनीलाई कम्पनी रजिस्ट्रारको कार्यालयबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्नुपर्छ । आफू सर्वसाधारणलाई विक्री गर्ने सेयर हिस्सा छुट्ट्याउँदै निस्कासन तथा विक्री प्रवन्धकको काम गर्ने मर्चेन्ट बैङ्कर छनोट गर्नुपर्छ ।
त्यस्तै सर्वसाधारणले सबै सेयर खरिद नगरेको स्थितिमा बाँकी सेयर खरिद गर्नका लागि अन्डरराईटर नियुक्त गर्नुपर्छ र अन्डरराईटर विक्री नभएको सेयर किन्ने ग्यारेन्टी गरेको हुनुपर्छ । यी सबै प्रक्रिया पुरा गरेपछि मात्रै बोर्डमा सेयर विक्री गर्न अनुमति माग्दै निवपेदन दिनुपर्छ । बोर्डले प्राप्त निवेदनहरुमाथी अनुसन्धान गरी सेयर जारी गर्न अनुमति दिनसक्छ ।
पछिल्लो व्यवस्थाअनुसार उत्पादनमुलक क्षेत्रका कम्पनीहरुले अङ्कित मूल्यमा थप ‘प्रिमियम’ लिँदा कम्पनीको नेट वर्थ (बुक भ्यालू–कितावी मूल्य)को साढे २ गुणाभन्दा बढी मूल्य लगाउन पाईंदैन । यसअघि शिवम सिमेटले अङ्कित मूल्यमा २ सय प्रिमियम थप गरि प्रतिकित्ता ३ सय रुपैयाँमा स्थानीय वासीलाई सेयर विक्री गरेको थियो । उता, सर्वसाधारणलाई प्रतिकित्ता ३ सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सयमा सेयर जारी गर्ने भनेपनि पछि प्रिमियममा १ सय रुपैयाँ घटाएर प्रतिकित्ता ३ सय रुपैयाँमा सेयर जारी गरेको थियो ।
प्राईभेट कम्पनीहरु पब्लिकमा जाँदा धेरै नै पारदर्शिता अपनाउनुपर्छ । त्यति पारदर्शीता प्राईभेट कम्पनीमा पर्दैन । निजी क्षेत्रका लागि सबैभन्दा गाह्रो काम गर्ने कम्पनीलाई पारदर्शी बनाउनु हो । त्यसकारण अधिकांश व्यावसायिक घराना आफ्ना निजी कम्पनीलाई पब्लिकमा रुपान्तरण गर्न चाहँदैनन् । पारदर्शीता अपनाउँदा तोकेको समय र ढाँचा (फम्र्याट)मा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने, सर्वसाधारणका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गराउने, नियमित साधारणसभा गराउनेजस्ता कामहरु गर्नुपर्छ । जुन प्राईभेट कम्पनीले गर्नुपर्दैन ।
सौरभ समूहका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले सवोत्तम सिमेन्टलाई छिटो भन्दा छिटो पब्लिक कम्पनीमा लैजाने गरी काम भइरहेको बताए । अहिले कम्पनीको क्रेडिट रेटिङको काम भइरहेको छ । ‘त्यसैले गत आर्थिक वर्षको अडिट पनि चलिरहेको छ । त्यसैगरी ग्लोवल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक पनि तोकिसकिएको छ,’ उनले भने, ‘आफ्नो तर्फ मिलाउनुपर्ने प्रक्रिया मिलाउन केही समय लागेको हो । रोकिएको होइन ।
हामी पब्लिकमा जान्छौं ।’ पब्लिक कम्पनीको छुट्टै साख (गुडविल) हुन्छ । यसले कम्पनीको विश्वसनियता पनि बढाउँछ । विश्वभर पब्लिक कम्पनीलाई हेर्ने दृष्टिकोण नै अलग रहेको न्यौपाने बताउँछन् ।