काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न बनेको समितिबाट सदस्य रामजी रेग्मीले राजीनामा दिएका छन् ।
डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकले सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोधकुमार कर्ण सम्मिलित ३ सदस्यीय समिति गठन गरेको थियो ।
सुरुदेखि नै सो समितिमा बस्न अनिच्छा देखाएका रेग्मीले राजीनामा गरेका हुन् । डेपुटी गभर्नर श्रेष्ठ र रेग्मी छिमेकी हुन् । उनीहरु दुवैको सम्बन्ध पनि राम्रो छ ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार समितिमा बसेर डेपुटी गभर्नर श्रेष्ठविरुद्ध निर्णय गर्न समस्या परेकाले उनले राजीनामा दिएका हुन् । ‘रेग्मी समितिमा आएदेखि नै राजीनामा गर्ने कुरा गरिरहन्थे,पक्कै राजीनामा गरे उनले ।’उच्च स्रोतले भन्यो ।
डेपुटी गभर्नर श्रेष्ठमाथि पद अनुकुलको काम नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधी गरेको, व्यवसायी अजेयराज सुमार्गीको पैसा बैङ्कबाट निकाल्न सहयोगी भूमिका खेलेको,सम्पत्ति शुद्धिकरण निवारण विरुद्द लाग्नुपर्नेमा शुद्धिकरणलाई सघाएको, एनसेलको लाभांश लैजान स्वीकृती दिएको, बैङ्क तथा वित्तीय संस्थाको नियमनको काममा बदनियत राखेको ,वैदेशिक भ्रमण जाँदा आँफुले पाउने भन्दा बढि फर्जी कागजात बनाएर अनाधिकृत सुविधा लिएको लगायतका आरोप लागेको छ ।
त्यस्तै, श्रेष्ठले केही बैङ्कको खराब कर्जा वास्तविक नदेखाएर घटाउनको लागि सहयोगी भूमिका खेलेको आरोप लागेको छ । त्यस्तै, उनलाई खराब कर्जालाई ‘एभरग्रिनिङ’ गर्न लागि मद्दत गरेको समेत आरोप लागेको छ । डेपुटी गभर्नर श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी समाल्दै आएका थिए ।