काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्रीको जिम्मेवारी सम्हालेपछि नेम्बाङले विकास निर्माणका काममा आफु प्रतिवद्ध रहेर काम गर्ने बताए । उनले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए। मन्त्रालयमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे।
उनले भने, “जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेको छन् । राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ ।” मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरु सुधार आएको दाबी गर्दै त्यसलाई अझै तिव्रता दिने बताए ।
मन्त्रालयले धेरै रेकर्ड तोडेको छः महासेठ
मन्त्रालयमा आज आयोजित कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे ।
विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४÷७५ मा ८६ वटा बनेको जानकारी दिँदै उनले गत २०७५÷७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिए।
महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताए । उनले मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे। पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४/७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए ।
उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे। पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए। यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए।