काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले न्युनतम पुँजी पुर्याउन प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन ।
जीवन बीमा व्यवसाय गर्ने १० कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
साधारणसभाबाट न्युनतम पुँजी पुर्याउन आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन । आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।
यस्तै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन ।
सिटिजन्सले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियनले ६४ करोड, रिलायन्सले ६३ करोड, सन, आईएमई, सानिमा, महालक्ष्मी, रिलायवल र प्रभु लाइफले ६० ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेका हुन ।
सञ्चालनमा आएको २ वर्षपछि मात्र आईपीओ निष्कासन गर्न पाइने धितोपत्र सम्बन्धित कानूनी व्यवस्था छ । यी मध्ये केहीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएका छन ।
युनियन लाइफको पुँजी १ अर्ब ५० करोड ५० लाख, रिलायबलको १ अर्ब ४० करोड, सिटिजन्स लाइफको १ अर्ब ७५ करोड, ज्योति लाइफको १ अर्ब ५४ करोड, रिलायन्स लाइफको १ अर्ब ४७ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४० करोड रुपैयाँ छ ।
आइएमई लाइफको १ अर्ब ४० करोड, सानिमा लाईफ इन्स्योरेन्सको १ अर्ब ४० करोड, प्रभु लाइफको १ अर्ब ४० करोड र महालक्ष्मी लाइफको १ अर्ब ४० करोड रुपैयाँ पुँजी छ ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुले न्यूनतम २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नयाँ जीवन बीमा कम्पनीको चुत्ता पूँजी १४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आईपीओ निष्कासन गर्ने तयारी गरेकाले नयाँ कम्पनीहरुले छिट्टै पूँजी पुर्याउने बताए ।